बुध ग्रहको स्वरुप-
बुध ग्रहको वर्ण हरियो हुन्छ। बुध ग्रह त्रिधातु (कफ, पित्त, वात) मिश्रित हुन्छ। जन्मकुण्डलीमा यदि बुध ग्रह कमजोर भयो भने बुद्धले आफ्नो दशा-अन्तर्दशामा वायुबाट उत्पन्न, कफबाट उत्पन्न, पित्तबाट उत्पन्न आदि तीनै प्रकारका रोगको समस्या हुन सक्छ। बुध ग्रह त्वचाको कारक ग्रह भएकाले त्वचामा बुध ग्रहको नियन्त्रण रहेको हुन्छ र यो नशाले युक्त हुन्छ। बुध ग्रहको स्वभाव मिठो बोली बोल्ने हुन्छ र यसको शरीर सबै अङ्ग समान वा मिलेको शरीर हुन्छ। बुध ग्रह विनोद प्रिय हुन्छ। बुध ग्रहको आखाँ लम्बाई युक्त हुन्छ र यो हरियो रङ्गको वस्त्र लगाउनेवाला हुन्छ।
दुर्वालताश्यामतनुस्त्रिधातुमिश्र: सिरावान्मधुरोक्तियुक्त:।
रक्तायताक्षो हरितांशुकस्त्वक्सारो बुधो हास्यरुचि: समाङ्ग:।।
बुधग्रहसँग सम्बन्धित वा बुधको कारक विषयहरु-
विद्वता(पाण्डित्य), वाक् शक्ति (बोल्ने शक्ति), कला, निपुणता, विद्वान् बाट स्तुति, मामा, बोलीको चातुर्यता, बुद्धि, यज्ञ, वैष्णव सम्प्रदाय, सत्य वचन, सीप, मनोरंजन स्थान, शिल्प कला, बन्धु, युवराज, मित्र, भान्जा-भान्जी आदिको विचार बुध ग्रहबाट गर्नुपर्छ।
पाण्डित्यं सुवच: कलानिपुणता विद्वत्स्तुतिं मातुलं ।
वाक्चातुर्यमुपासनादिपटुतां विद्यासु युक्तिं मतिम् ।।
यज्ञं वैष्णवकर्म सत्यवचनं शुक्तिं विहारस्थलं ।
शिल्पं बान्धवयौवराज्यसुहृदस्तद्भागिनेयं बुधात् ।।