महर्षि कश्यपको विवाह प्रजापति दक्षकी पुत्री अदितिसित भएको थियो, कश्यप र अदितिको छोराका रूपमा विवस्वान् (सूर्य)को जन्म भयो । सूर्यको विवाह त्वष्टा ऋषिकी छोरी सन्ध्यासित भयो । सूर्य र सन्ध्याको संयोगबाट दुईवटा छोरा वैवस्वत मनु र यमराज एवं एउटी छोरी यमुनाको जन्म भयो । सन्ध्या आफ्ना पति सूर्यको प्रचण्ड तापलाई सहन नसकेर जहिल्यै पनि सन्तप्त रहने गर्दथिन् । उनले छायालाई आफ्नै स्वरूपको बनाएर आफ्ना पतिको सेवासुश्रुषाको जिम्मा दिईन् र माइत गईन् । सन्ध्याका पिता त्वष्टालाई छोरीको यो व्यवहार मन परेन र उनले सन्ध्यालाई पतिकै घरमा बसी पतिको सेवासुश्रुषा र टहल गर्नुपर्ने सल्लाह दिए । उनले बुवाको आग्रहलाई मानिनन् । घोडा झैं जिद्दी भएर आफ्नो अवहेलना गरेको ठहर्याएकाले त्वष्टाले सन्ध्यालाई घोडा हुने श्राप दिए । पिताको श्राप पाएपछि सन्ध्या घोडीका रूपमा कुरु प्रदेशको जङ्गलमा विचरण गर्न थालिन् ।
यता सूर्य सन्ध्याको छायालाई नै सन्ध्या हो भन्ने ठानेर पत्नीवत् व्यवहार गर्न थाले । कालान्तरमा छायाको गर्भबाट पनि सावर्णि मनु र शनिश्चर नामका दुई भाइ छोराको जन्म भयो । छाया स्वभावतः आफूले जन्माएका दुबै छोरा सावर्णि मनु र शनिलाई बढी प्रेम गर्दथिन् । सबै बालबालिका सँगै खेल्ने उफ्रने गर्दथे । एक पटक यमराजले ख्यालठट्टामैं सौतेनी आमा छायालाई आफ्नो खुट्टा देखाए छन् । छायालाई यमराजको क्रियाकलाप मन परेन । उनी रिसाईन् र तैंले म आमालाई खुट्टो तेर्स्याएको हुनाले आजबाट लङ्गडो हुनु परोस् भनी श्राप दिईन् । श्रापबाट डराएका यमराज रुँदैरुँदै पिता सूर्यकहाँ पुगे । छोराको कुरो सुनी उनलाई आमाको श्रापबाट जोगिने उपाय बताएर उनी छायासित बालबालिकामा भेदभाव किन गरेको भनी जङ्गिए । सूर्यसित डराएर छायाले समस्त सत्यतथ्य बताइदिईन् । सन्ध्याको बेहोरा बल्ल सूर्यले चाल पाए । उनी क्रोधित हुँदै ससुराल पुगे । ससुरा त्वष्टाले सम्झाइबुझाई ज्वाइँलाई शान्त तुल्याए र हजुरको तेज सहन नसकेर सन्ध्याले यस्तो अपराध गरेको हो, अहिले उनी घोडीका रूपमा वनमा भौंतारिरहेकी छन् भनी बताए । उनको यस अपराधलाई माफ गर्नुहोस् र हजुरको तेजलाई काटछाँट गरी सहनयोग्य बनाउने अनुमति दिनुहोस् भनी त्वष्टाले सूर्यसँग आग्रह पनि गरे । अनुमति पाएपछि त्वष्टाले सूर्यको तेज उन्मीलन गरिदिए । त्वष्टाले सूर्यको तेजलाई खुर्किएर मिल्काएको अंशको प्रयोग गरी विश्वकर्माले सुदर्शन चक्र तैयार गरी भगवान् विष्णुलाई समर्पण गरे । सूर्यको अनुरोधमा त्वष्टाले सन्ध्याको श्राप फिर्ता लिएको हुँदा उनी पुनः रूपलावण्यले युक्त सुन्दर रूपमा फिर्ता आईन् । मनोहर रूपमा पुनर्जीवन पाएकी सन्ध्यालाई लिई सूर्य पुनः आफ्नो लोकमा आए । पछि सूर्य र सन्ध्याको मिलनबाट नासत्य र दस्र नाम गरेका अश्विनीकुमारहरूको जन्म भयो । यमराजको कठोर तपस्याबाट प्रसन्न भई महादेवले उनलाई पितृलोकको आधिपत्य प्रदान गर्नुभयो र धर्म/अधर्मको निर्णय गर्ने अधिकारसमेत दिनुभयो । यमुना पवित्र नदीका रूपमा पृथ्वीतलमा प्रवाहित भईन् । शनिश्चरले नवग्रहमण्डलमा स्थान सुरक्षित गरे ।
शनिलाई ग्रहको उपाधि
स्कन्द पुराणको काशी खण्डमा भएको वृत्तान्तबमोजिम छायापुत्र शनिले पिता भगवान् सूर्यसित प्रार्थना गरे - म यस्तो पद प्राप्त गर्न चाहन्छु, जुन पद आजसम्म कसैले प्राप्त गर्न सकेको छैन । हजुरको मण्डलभन्दा मेरो मण्डल सातगुना ठूलो होस् । देवता, असुर, दानव आदि कसैले पनि मेरो वेगको सामना गर्न नसकोस् । छोराको यस्तो उद्देश्य सुनेर सूर्यदेव असाध्यै प्रसन्न भए र उनलाई काशीमा गएर भगवान् महादेवको भक्तिआराधना गर्ने सल्लाह दिए । शनिले पिताको आज्ञानुसार महादेवको तपस्या गरे र शिवजी प्रसन्न हुनुभयो अनि शनिलाई शिवले ग्रहत्व प्रदान गरी नवग्रह मण्डलमा उच्च स्थान प्रदान गर्नुभयो ।