विवाहमा गुण मिलानका आठ अङ्ग र तिनीहरुले नेतृत्व गर्ने क्षेत्र

मानव जीवनका साेह्र संस्कारहरु मध्ये विवाहलाई सबैभन्दा महत्वपूर्ण संस्कारकाे रुपमा लिइन्छ। बैवाहिक सम्बन्ध कायम गर्नु अघि केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ । गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी हुन सक्दैनन्। गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ । यी अष्टकुट हुन् – वर्ण, वश्य, तारा, योनी, ग्रहमैत्री, गण, राशि र नाडी । ज्योतिषशास्त्रअनुसार कुनै जातकको प्रकृति, अभिरुचि, व्यक्तित्व र व्यवहार उसको जन्मनक्षत्र र राशीका आधारमा निर्धारित हुने गर्दछ। यस आधारमा पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।

गुणमिलानको जम्मा अङ्क ३६ हुन्छ र दुबै वरबधूको सम्बन्धबाट आउने गुण ५० प्रतिशतभन्दा धेरै भएमा तिनीहरूको दाम्पत्य जीवन सुखमय हुने विश्वास गरिन्छ। उत्ताउलो उमेरमा कसै प्रति आकर्षण बढ्नु स्वाभाविक हो, तर दीर्घकालसम्म त्यो आकर्षण भावना कायम हुन्छ हुँदैन तत्कालको आकर्षणलाई मात्र हेरेर टुङ्गो लगाउने विषय पनि होइन।

सामन्यतया ज्योतिषशास्त्रीय दृष्टिकोणबाट दुबै केटा र केटीको कुण्डलीमा शुभ ग्रहको समयमा गुणमेलापक चक्रमा थोरै अङ्क हुँदा पनि एक अर्कामा आकर्षण र भवनात्मक निकटता हुनसक्छ, तर भविष्यमा जब तिनको जीवनमा अशुभ ग्रहको समयचक्र प्रारम्भ हुन्छ ती दुईमा अचानक वैचारिक मतभेद हुनथाल्छ, जसबाट वादविवाद बढ्दछ, अनि सम्बन्धविच्छेद हुने अवस्था समेत सिर्जना हुन्छ। ज्योतिषशास्त्रमा गुणमिलान गर्दा अष्ट कूटको बेग्लाबेग्लै गणना गरिन्छ। यी आठवटा कूटहरूको भिन्नभिन्न ढङ्गले एक आपसमा सामञ्जस्य स्थापना गर्ने महत्त्वपूर्ण भूमिका हुन्छ।

 

यहाँ तिनै अष्ट कूटका बारेमा जानकारी प्रस्तुत गरिएको छ –

१) वर्ण – अष्टकूटहरूमध्ये पहिलो कूट ‘वर्ण’लाई मानिन्छ। वर्णका आधारमा व्यक्तिको कार्यक्षमताको मूल्याङ्कन हुने गर्दछ। ज्योतिषशास्त्र र आर्य संस्कृतिमा वर्णलाई चार किसिमले विभाजन गरिएको छ – ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र। यी वर्णहरूलाई क्रमशः उत्तम, मध्यम, सामान्य र अधम श्रेणीमा राखिएको हुन्छ। केटा र केटीको गुणमिलान गर्दा केटीका तुलनामा केटाको वर्ण उच्च श्रेणीको हुँदा गुणमिलान अन्तर्गत १ अङ्क प्राप्त हुन्छ। यस मिलानमा उत्तीर्ण हुँदा दुबै वरबधुको एक आपसमा सुसम्बन्ध रहने र समान कार्य क्षमता हुने बताइन्छ।

 

२) वश्य – अष्टकूटहरूमध्ये दोस्रो कूट ‘वश्य’लाई मानिन्छ। वश्य पाँच प्रकारका हुन्छन् – चतुष्पद ,द्विपद ,जलचर ,वनचर र कीट। मेष र वृष राशीको पूर्ण भाग र धनु राशीको उत्तरार्द्ध एवं मकर राशीको पूर्वार्द्ध हुने जातकको चतुष्पद वश्य हुन्छ। सिंह राशीको वनचर वश्य हो। मिथुन ,कन्या, तुला र कुम्भ राशीको समस्त भाग र धनु राशीको पूर्वार्द्ध हुने जातकको द्विपद वश्य हुन्छ। मकर राशीको उत्तरार्द्ध खण्डको जलचर वश्य हुन्छ र कर्कट राशीको कीट वश्य मानिन्छ। वश्यको मिलानबाट स्वभाव र पारस्परिक सम्बन्ध कस्तो हुन्छ भन्ने अनुमान लगाइन्छ, एकै किसिमको वश्य हुँदा वा परस्पर मित्र वश्य हुँदा दुबै दम्पत्तिको सम्बन्ध राम्रो हुन्छ तर वश्य एक आपसमा शत्रु हुँदा दुबैमा शत्रुताको भावना प्रवल हुन्छ, सामान्य कुरामा पनि दुबै झगडा गर्न थाल्छन्। दुबै वश्य एक आपसमा भक्ष्य छन् भने जीवनसाथीले आफु दबिएको भावनाबाट ग्रसित हुनुपर्छ। वश्यका आधारमा गुणमिलान तालिकामा २ अङ्क प्राप्त हुन्छ।

 

३) तारा – अष्टकूटहरूमध्ये तेस्रो कूट ‘तारा’लाई मानिन्छ। जन्म नक्षत्रका आधारमा ताराको गणना हुन्छ। तारा नौ किसिमका हुन्छन् – जन्म ,सम्पत्,विपत्, क्षेम ,प्रत्यरि, साधक, वध, मित्र र अतिमित्र। ताराको सम्बन्ध शुभ हुँदा दुबै दम्पतीमा परस्परमा एक अर्काका भावनालाई बुझ्ने क्षमता प्राप्त हुन्छ। तारा गणना गर्दा केटाको जन्मनक्षत्रदेखि केटीको जन्मनक्षत्रसम्म गनेर आउने सङ्ख्यालाई नौले भाग गर्दा जति शेष हुन्छ, त्यस बमोजिम क्रमशः जन्म ,सम्पत्,विपत्, क्षेम ,प्रत्यरि, साधक, वध, मित्र र अतिमित्र नामका तारा हुन्छन्। यीमध्ये विपत्, प्रत्यरि र वध नाम गरेको तारा प्राप्त हुँदा अशुभ हुन्छ, अन्य तारा शुभ नै मानिन्छन्। ताराको मिलान अनुकूल भएमा गुणमेलापक चक्रमा तीन अङ्क प्राप्त हुन्छ।

 

४) योनी – अष्टकूटहरूमध्ये चौथो कूट ‘योनी’ हो। योनी चौधवटा छन्, ती हुन् – अश्व(घोडा), गज (हात्ती),मेष (भेडो),सर्प, मार्जार (बिरालो), मूषक (मुसो), गौ (गाई), महिष (भैंसी), व्याघ्र (बाघ), मृग, वानर (बाँदर), नकुल (न्याउरीमुसो) र सिंह । जस्तै – घोडा योनीको भेडा, बिरालो, मुसो, गाई र मृग मित्र, सर्प, कुकुर, बाँदर र न्याउरीमुसो सम र भैंसी शत्रु योनी हुन्। योनीचक्रको मिलानबाट दुबै दम्पत्तिमाझ निर्णय लिने क्षमता ,एक आपसमा सन्तुलन र विवेक पक्षको विचार गर्ने गरिन्छ। दाम्पत्य जीवनको लामो जीवनकालमा श्रीमान् र श्रीमतीमा वैचारिक तालमेल हुनु अति आवश्यक हुन्छ, तर वैचारिक तालमेल नमिल्दा जीवनमा उतारचढाव ब्यहोर्नु पर्छ। योनीको मिलानबाट गुण मेलापक चक्रमा चार अङ्क प्राप्त हुन्छ, वर र बधूको समान योनी हुँदा चार गुण ,मित्र योनी हुँदा तीन गुण, सम योनी हुँदा दुई गुण र शत्रु योनी हुँदा शून्य गुण हुन्छ।

 

५) ग्रह मैत्री – ग्रहहरूको एक आपसमा हुने मैत्रीसम्बन्धबाट वर र बधूको आपसी सम्बन्ध, पारस्परिक स्वभाव र तिनको प्रकृतिका बारेमा थाहा पाउन सकिन्छ। ग्रहहरूका माझमा एक आपसमा तीन किसिमका नैसर्गिक सम्बन्ध रहने कुरा ज्योतिषशास्त्रमा उल्लेख गरिएको पाइन्छ। यदि केटा र केटी दुबै जनाको राशीको स्वामी ग्रह परस्परमा मित्र छन् वा एउटै हुन्छ भने दुबै दम्पतीमा पनि परस्परमा प्रेमसम्बन्ध कायम हुन्छ तर ती राशीस्वामी परस्पर शत्रुतापूर्ण सम्बन्ध राख्दछन् भने ती दुईका वीचमा पनि शत्रुत्व कायम हुन्छ। दुईजनाकै राशीस्वामीको सम भाव छ भने ती जोईपोइ कहिले प्रसन्न पनि हुन्छन् भने कहिले मनमुटाव पनि देखिन्छ। गुणमेलापक चक्रमा यसरी ग्रह मैत्रीका आधारमा अधिकतम पाँच अङ्क प्राप्त हुन्छ।

 

६) गण – गण तीन वटा हुन्छन् – देव गण, मनुष्य गण र राक्षस गण। गणद्वारा शालीनता ,उदारता ,सहृदयता र सुशीलताको विचार गरिन्छ। देव गणमा जन्मिएका जातकमा नैसर्गिक रूपमा उदार ,दयालु ,दानी र आत्मविश्वासी चरित्र पाइन्छ, त्यस्तै मनुष्य गणमा जन्म लिनेहरू चलाख, स्वार्थी र स्वाभिमानी हुन्छन् अनि राक्षस गणमा समुत्पन्न भएका व्यक्तिहरू क्रोधी, जिद्दी, गैरजिम्मेवार र निर्दयी हुन्छन्। सामान्यतया एउटै खालको गणलाई सर्वोत्कृष्ट मानिन्छ भने देव गण र मनुष्य गणको एक आपसमा असल सामञ्जस्य हुन्छ, देवगण र राक्षस गणको धेरै जसो झगडा परिरहने गर्दछ अनि मनुष्य र राक्षस गणका जोडीको दाम्पत्य सम्बन्ध भएमा मनुष्य गण हुने केटा वा केटीको आयुमा सङ्कट आउने वा मृत्यु हुने भन्ने चलन छ। एक आपसमा गण मिलान हुँदा अधिकतम छ अङ्क प्राप्त हुन्छ।

 

७) भकूट – भकूट छ किसिमका हुन्छन्। वरको राशीबाट कन्याको राशीसम्म र कन्याको राशीबाट वरको राशीसम्म गन्ती गर्दा कुन भकूट परेछ भन्ने पत्तो लाग्छ। यसरी गन्दा एक अर्काको राशीबाट गन्दै जाँदा ६/८, २/१२ र ९/५ पर्नु हुँदैन। तर राशी स्वामी एउटै परेको खण्डमा यो सम्बन्धलाई पनि ग्राह्य मानिन्छ। भुकूट ग्राह्य भएमा गुणमेलापक चक्रमा अधिकतम ७ गुण प्राप्त भएको मानिन्छ।

 

८) नाड़ी – विवाहका निम्ति भावी वरवधूको जन्मकुण्डली भिडाउँदा गुणको गणना गर्ने क्रममा नाडीको सबै भन्दा महत्वपूर्ण स्थान हुन्छ। नाडी व्यक्तिको मन र मानसिक ऊर्जाको सूचक हो। व्यक्तिको निजी सम्बन्ध उसको मन र भावनाद्वारा नियन्त्रित हुन्छ। भावी दम्पतिका रूपमा एउटा लामो कालखण्ड साथसाथै रहने दुईजनामा भावनात्मक समानता हुनु अत्याश्यक छ, तर ती दुईजनामा प्रतिद्वन्दिता भयो भने तिनले एक्साथमा जीवन गुजार्न असहज हुन्छ, विवाह धेरैपटक जोडिने सम्बन्ध पनि होइन। जसरी शरीरमा रहेको वात, पित्त र कफ जस्ता दोषको पहिचान चिकित्सकले हातको नारी छामेर पत्ता लाउँछन्, त्यस्तै दुईजना अपरिचित नारी र पुरुषको भावनात्मक सम्बन्धको जानकारी आदि, मध्य र अन्त्य नामका तीन किसिमका नाडीका माध्यमबाट प्राप्त हुन्छ। वैदिक ज्योतिषका अनुसार आदि, मध्य र अन्त्य – यी तीनवटा नाडीले क्रमशः आवेग, उद्वेग र संवेग द्योतन गर्दछन्, जसबाट सङ्कल्प, विकल्प र प्रतिक्रियाको जन्म हुन्छ। मान्छेको पनि सङ्कल्प, विकल्प वा प्रतिक्रियाद्वारा नै सञ्चालित हुन्छ र उसको मनोदशाको मूल्याङ्कन उसमा रहेको आवेग, उद्वेग वा संवेगको जानकारीबाट थाहा पाइन्छ। यस प्रकार मेलापक चक्रमा नाडीगणनाका माध्यमबाट भावी दम्पतिको मानसिकता र मनोदशाको मूल्याङ्कन गर्न सकिन्छ। नाडीको सङ्ख्या तीनवटा हुन्छ – आदि ,मध्य र अन्त्य। दुबै वर र बधूको एउटै नाडी हुनुहुन्न। यस्तो भएमा दाम्पत्य सम्बन्ध वा विवाह अशुभ मानिन्छ। नाडी एकै किसिमको हुँदा तिनको यौनसम्बन्धमा निरसता हुने सम्भावना एकातिर हुन्छ भने सन्तानोत्पादनमा पनि समस्या आउने देखिन्छ। त्यसैले गुणमिलान चक्रमा यसको सर्वाधिक अङ्क छ। नाडीको मिलान हुँदा एकमुष्ट आठ गुण प्राप्त हुन्छ।