हाम्रो संस्कार तथा संस्कृतिमा विवाहको ठूलो महत्व रहेको छ। हाम्रा शास्त्रहरुले "धन्यं गृहस्थाश्रमम्" अर्थात् गृहस्थाश्रम सबैभन्दा उत्तम बताएका छन्। विवाह संस्कारले युक्त पतिपत्नीबाट उत्पन्न सन्तान कुलको दीपक र पितृ उद्धारका अधिकारी सक्ने शास्त्रमा उल्लेख गरिएको छ। वैवाहिक जीवन एउटा पवित्र र सहअस्तित्वको बन्धन रहेको छ। विवाहको मुहूर्त पनि वैवाहिक जीवनको शुभाशुभ निर्धारणको महत्वपूर्ण अङ्ग रहेको छ। अहिलेको समयमा विवाह गर्दा मुहूर्त तथा विवाह विधिलाई त्यति धेरै महत्व दिएको पाइदैन, जसले गर्दा कालान्तरमा वैवाहिक जीवनमा समस्याहरु हुने र सम्बन्ध विच्छेद हुने घटनाहरु प्रशस्त देख्न र सुन्न पाइन्छ।
हामीले वैवाहिक जीवनमा आउने समस्या मुहूर्तकै कारणले हो भन्न खोजेका होइनौ, तर यो पनि एउटा महत्वपूर्ण कारक तत्व रहेको छ। हामीले विवाह गर्दा गुण मिलान गरेर गरेपनि विवाहको पूरा संस्कार नगर्नु र विवाहमा लग्न मुहूर्त आदिको ख्याल नराख्नु पनि विवाहमा समस्याको कारक रहन सक्छ। त्यसैले विवाहमा विधि र मुहूर्तको विचार गरेर सहि समयमा विवाह गर्दा वैवाहिक जीवन सुखी र सफल रहन सक्छ। आज हामी यस लेखमा विवाहको लागि शुभ र अशुभ दिनहरु कुन-कुन हुन् ? यसबारे चर्चा गर्नेछौँ।
आउनुहोस् जानौं विवाहका लागि शुभाशुभ दिनहरुको बारेमा-
बिहिबार, शुक्रबार र बुधबार विवाह गर्नाले कन्या पतिको प्रिय हुन्छिन् अर्थात् पतिपत्नी बीच समझदारी र सहअस्तित्व रहन्छ। आइतबार, शनिबार र मङ्गलबार विवाह गर्नाले कलहको वातावरण बन्दछ। सोमबार विवाह गर्नाले कन्या सौताले युक्त हुन्छिन्।
यसै सन्दर्भमा रहेको श्लोक यहाँ प्रस्तुत गरिन्छ-
गुरुशुक्रेन्दुपुत्राणां दिनेषु परिणीयते ।
या कन्या सा भवेन्नित्यं भर्तु चित्तानुवत्तनी ॥
अर्काकि भौमवाराणां दिनेषु कलहप्रिया ।
सापत्न्य समवाप्नोति तुषारकरवासरे ॥