शनि प्रदोष व्रत

शनि प्रदोष व्रत

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ । खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ । पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ । चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ लग्न भएका जातकले यो व्रत आजीवन लिनु राम्रो हुन्छ । आजीवन व्रत सम्पादन गर्न कठिनाइ हुने मनुष्यले कम्तीमा १६ वटा, १६ महिना, १६ वर्ष आदि १६ को सङ्ख्या पुर्याएर व्रतको उद्यापन गर्नु पर्दछ ।

शनिप्रदोष व्रतको व्रतकथा

प्राचीन समयको कुरा हो । एउटा सहरमा शिवधन नाम गरेका वैश्य भौतिक सुखसुविधा सम्पन्नताका साथमा वैभवपूर्ण जीवनयापन गरी बसोबास गर्दथे । उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो । साहुजी अत्यन्त दयालु थिए । उनकहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो । जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे । यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन् ।

सन्तानहीनताका कारण ती वैश्यका पतिपत्नी अतीव चिन्तित थिए । बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे । आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए । तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे । हेर्दा ती साधु तेजस्वी देखिन्थे । यसभन्दा पहिले नदेखिएका ती साधुसित आशीर्वाद प्राप्त गरेरमात्र यात्रामा जाँदा राम्रो हुने विचार ती दुबैको मनमा आयो । समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन भई बसेका थिए । योगीलाई ब्युझाउँदा उल्टै रिसाउने र श्राप दिने डर पनि थियो ।

समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा ती दुबै प्रतीक्षा गर्न थाले । बिहानदेखि नै बसेका करबद्ध भएर बसेका साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, रात पर्यो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन । भोलिपल्ट उज्यालो भएपछि मात्र जोगी ब्युँझिए । वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोड़ेर बसिरहेका थिए । आफ्ना अगाडि सहरका धनाढ्य व्यापारीका जोइपोइलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने - ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ । हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो । त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ । तिमीहरूलाई सन्तान प्राप्त हुनेछ । अब तीर्थवास गर्ने आवश्यकता छैन । बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर ।'

साधुका कुरा सुनेर प्रसन्न भएका ती दम्पत्तीले साधु र भगवान् भोलेशङ्करको भूरिभूरि प्रशंसा गरे र त्यसपछि आफूले नजानीकन लिएको प्रदोष व्रतको महात्म्य र व्रतविधान बताइदिन ऋषिसँग प्रार्थना गरे । साधुले निष्ठापूर्वक सम्पादन गर्दा सुयोग्य सन्तान दिलाउने शनि प्रदोष व्रत लगायत समस्त प्रदोष व्रतको महात्म्य र विशेषता बताएर व्रतसम्पादन गर्ने विधिविधान र नियम बताइदिए । मुनिसित आशीर्वाद र विदा प्राप्त गरी ती दम्पती त्यहाँबाट तीर्थयात्राका लागि बाटो लागे । तीर्थयात्रा पूर्ण भएपछि घरमा आएर शनि प्रदोष व्रतको दिनबाट सुरु गरी प्रत्येक प्रदोषका दिन निष्ठा र विधिपूर्वक व्रत लिन थाले । कालान्तरमा शिवधन वैश्यका घरमा एउटा सुन्दर पुत्रको जन्म भयो । यसरी शनि प्रदोष व्रतको प्रभावले ती वैश्यको जीवनमा छाएको अन्धकार लुप्त भयो । ती दम्पती पुत्र प्राप्त भएपछि आनन्दपूर्वक जीवनयापन गर्न थाले ।

त्यसैले पुत्रप्राप्तिको मात्र होइन, सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्ने दम्पतीले शनिप्रदोषको व्रत लिनु पर्दछ । शनिबारबाहेक अन्यबारका दिन परेको भएपनि प्रदोष व्रतको निष्ठापूर्वक पालना गर्नाले तपार्इंको कुण्डलीमा देखिएको शनि ग्रहको अनिष्ट फल र नराम्रा प्रकोपहरू शान्त हुने गर्दछन्, अनि रोगव्याधि, दरिद्रता, घरभित्रको अशान्ति, नोकरी वा व्यापारव्यवसायमा देखिएको कठिनाइ पनि निवारण हुन्छन् ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish