कालसर्प योग
पछिल्लो समयमा कालसर्प योगको चर्चापरिचर्चा खुब राम्रोसित भएको पाइन्छ । कालसर्प योग भएका जातकहरूको जीवनचर्यामा केही साझा विशेषताहरू पनि प्राप्त भएको देखिन्छ, जसका कारण मानिसहरू ए कालसर्प योगका कारण जीवन तनावग्रस्त पो भइहाल्छ कि भनी छिट्टै प्रभावित पनि भइहाल्छन् । कालसर्प योग भएका भनिएका जातकहरूमा देखिने साझा विशेषताहरू निम्नानुसार छन् भनी कतिपय ज्योतिषीले भनेको सुन्न पाइन्छ, जस्तै : -
१- घरमा मानसिक असन्तुष्टि, चिडचिडेपना र कलहको वातावरण हुनु ।
२- धनागम र दैनिकी सञ्चालनका लागि व्यस्त जीवनचर्या कायम हुनु, कडा मिहिनेत र परिश्रम गरी धनार्जन गर्नुपर्ने र अाएको धन दैनिकी र व्यवहारिक समस्यामा तुरुन्त खर्च भइहाल्ने परिस्थिति सिर्जना भइरहनु ।
३- परिवारका सदस्यहरू बढी महत्त्वाकाङ्क्षी हुनु, साैखिन जीवनचर्या कायम हुनु, एकै ठाउँमा भेला भएको बेला पनि काल्पनिक वा असम्भव कुराहरूमा तर्कवितर्क गरी रहनु, तर टाढा जाँदा वा दूरी बढ्दा एकअर्काप्रति प्रेमभाव प्रदर्शन गर्ने वा खोजीनीति गरी रहने । परिवारका सदस्यको उचित समयमा उचित काम वा उन्नतिप्रगति हुन नसक्नु (जस्तै विवाह, व्यवसायिक जीवन वा अन्य पेसा, रोजगारी, पठनपाठन अादिमा योग्यता, क्षमता वा वातावरण हुँदाहुँदै अाकस्मिक रूपमा बाधाविघ्न अाइलाग्नु)
४- सबै व्यवहार ठिकठाक हुँदाहुँदै पनि अाकस्मिक र चिताउँदै नचिताएका कुनै अवाञ्छित घटना घट्नु र त्यस घटनाको जिम्मेबारीबोध अाफूलार्इ हुनु ।
५- पेसा, व्यवसाय, नोकरी वा बन्दव्यापारमा अचानक मन्दी अाउनु ।
६- हुनै लागेका काम बन्न नसक्नु, कडा मिहिनेत र परिश्रमका साथमा काम सम्पन्न भए पनि विना अवरोध काम हुन नसक्नु । त्यसरी काम सम्पन्न गर्दा यस्ता बाधाविघ्न उपस्थित हुन पुग्छन् जुन कुरो उसले सम्झिएको पनि हुँदैन ।
७- घरपरिवारका सदस्य एकअापसमा विना उद्देश्य झगडामात्र गर्दछन्, वंश वा विशेष गरी छोरो नजन्मनु, वा उसको उन्नतिप्रगति अनेकानेक बाधाअवरोध सिर्जना हुनु ।
८- घरमा सुखको अनुभूति नहुनु, शून्यताको महसुस हुनु, परिवारका कुनै न कुनै सदस्यलार्इ कुनै न कुनै रोगको प्रकोप रही रहनु, गाइवस्तु वा पशुपन्छी अचानक मर्नु, रुखविरुवा अचानक सुक्नु ।
९- अाफ्नो क्षमता वा योग्यताबमोजिमको काम नपाउनु, अाफूभन्दा कम योग्यताको नजिकैको कुनै नातेदारले विनामिहिनेत र परिश्रम निकै धनार्जन गर्नु वा उन्नतिप्रगति हुनु, तर अाफ्नो नभएकाले चिन्ताग्रस्त रहनु ।
१०- प्रेमप्रसङ्गमा विफल हुनु, वैवाहिक जीवनमा किचलो अाइरहनु, सन्तानहरू अस्वस्थ भइरहनु ।
माथिका विवरणलार्इ मनन गर्ने हो भने तपार्इंको कालसर्प योग भए पनि वा नभए पनि अामजीवनमा जीवनसङ्घर्षको प्रारम्भिक कालमा सबैले भोग्ने पीडा हो भन्दा फरक पर्दैन । तर यिनै विषयवस्तुलार्इ फलादेशको अाधार बनार्इ कतिपय ज्योतिषी र धर्मगुरुले कालसर्प योगलाई राम्रो कमाइ खाने भाँडो बनाएको पनि देखिन्छ । कुण्डलीमा भएका शुभ वा अशुभ योगहरूको ज्ञान नभएका वा ज्ञान भए पनि तिनको वास्ता नगरी केवल कालसर्प योगको मात्र चर्चा गरी कसरी जातकबाट अलि बढी धन वा रकमकलम हात पार्ने भन्ने ध्याउन्नमा हुन्छन्, ज्योतिषी र पण्डितहरू । त्यसैले कालसर्प योग यी प्रसङ्ग वा विषयको कारक योग होइन । बरु कालसर्प योग हुने जातकहरूमा केही छुट्टै विशेषता पाउन सकिन्छ, ती हुन् :-
१- कालसर्प योग भएका जातकका अाममानिसको भन्दा फरक र छुट्टै प्रतिभा हुन्छ ।
२- यस योगको मानिस निरन्तर मिहिनेत र परिश्रम गरी सामाजिक वर्चस्व स्थापना गर्न लागिपर्दछ।
३- बाल्यावस्थामा उच्च प्रतिभा हुन्छ, तर किशोरावस्थादेखि नै उसको लगाव अध्ययनमा मात्र सीमित नभर्इ सामाजिकता र रचनात्मकतातर्फ अाकर्षित हुने हुँदा अध्ययनको स्तरमा गिरावट अाउन सक्छ ।
४- यस योगमा जन्म लिने जातकमा उत्ताउलोपन हुँदैन, तर अाफ्नोपन र भावुकता हुन्छ ।
५- धनसम्पत्तिको हकमा मध्यम वर्गको सामाजिक जीवन धान्नसक्ने सम्पत्ति र योग्यता हासिल गर्दछ ।
६- प्रायः पुत्रसन्तानप्रतिको मोह हुँदैन । तर पतिपत्नी दुबै कालसर्प योग वा राहुको अधिकारभित्रका रहेछन् भने राम्रो अार्थिक हैसियत बनाउन सफल भएका पनि देखिन्छन् र छोरो पनि हुन्छ ।
७- स्वावलम्बी र दक्ष हुने भएकाले यिनीहरू जेजस्तो कर्ममा पनि उपयुक्त हुन्छन्।
८- घरपरिवारको पारम्परिक कर्तव्य र सुखसुविधा जुटाउने सजगता देखिन्छ, तर विवाह वा सम्बन्धका लागि निर्धारित अनुशासनलार्इ पालना गर्दैनन् ।
९- परिस्थितिअनुरूप अाफ्नो कार्यक्षेत्र र स्थान फेरिरहन्छन् । यिनीहरू अस्थिर मतिका भएकाले कार्यक्षेत्रलार्इ महत्त्व दिए असफल पनि हुँदैनन् ।
१०- प्रेमजीवनमा निष्ठावान् हुन्छन् । चोरबुद्धि र चतुर्याइँको कमी हुन्छ । सामाजिक स्थान उच्च बनाउने प्रयत्न पनि गर्दछन् र अन्त्यसम्ममा सफल पनि हुन्छन् । त्यसैले कतिपय सन्तमहन्त, राजनेता र सामाजिक अभियन्ताको कुण्डलीमा कालसर्प योग भएको देखिन्छ ।
के हो त काल सर्प योग?
जसरी कुनै व्यक्तिको आफ्नो नाम अरुको जस्तै राम्रै हुन्छ भन्ने हुँदैन, जस्तै हाम्रै समुदायमा रावण, दुर्योधन, यमराज आदि शास्त्र र समाजमा खल चरित्र मानिएका नाम जस्तै नाम भएका मानिसहरू पनि छन्, त्यस्तै कालसर्प केवल एउटा योगको नाममात्र हो अर्थात् योगलाई परिचय गराउने शब्द हो। राहु ग्रहको पर्यायवाची शब्द सर्प र केतु ग्रहको पर्यायवाची शब्द यमराज (काल) हो । ती दुई आकाशमा भौतिक पिण्ड नभएका छायाजस्ता धब्बा मात्र हुन्। त्यस्तो छाया हामीले पृथ्वीबाट देख्नसकिने ठूला ग्रहपिण्डहरू सूर्य र चन्द्रमाको परिभ्रमणपथको मिलनबिन्दुबाट उत्पन्न हुन्छ। साना र ठूला दुईवटा वृत्तलाई एकै ठाउँमा खप्टँदा जसरी दुईवटा वृत्तका परिधीय रेखा (धर्सा) मिलन हुने दुईवटा बिन्दु भेटिन्छन्। त्यस्तै यी राहु र केतु नामका बिन्दु पनि आकाशका दुईवटा विपरीत ठाउँमा हुन्छन् र यी दुईवटा छाया ग्रहको उपस्थिति ६ वटा राशिको फरकमा अर्थात् १८० डिग्रीको दूरीमा हुन्छ। कालसर्प योगको सिर्जना यिनै राहु र केतु बिन्दुका माझमा सूर्य, चन्द्रमा, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनि ग्रहहरू भएको अवस्थामा हुन्छ। राहु र केतुको घेरा बाहिर एउटासम्म ग्रह परेको अवस्था छ भने त्यसलाई 'आंशिक कालसर्प योग' मान्ने चलन छ। कालसर्प योगले सबैलाई र सबै स्थितिमा अशुभ प्रभाव वा अनिष्ट फलमात्र प्रदान गर्ने गर्दैन।
त्यसैले कालसर्पको हचुवाका भरमा निर्क्याैल गरी असफलता, निराशा, अवरोध वा विघ्नको कारक कालसर्प योग नै हो भनी ठोकुवा गरी शान्तिप्रक्रियामा संलग्न गराउनु राम्रो होइन । वास्तवमा कालसर्प योग शास्त्रमा पहिले देखि नै चर्चा गरिएको योग होइन । खासगरी रेडियो, टिभीमा ज्योतिषीय चर्चापरिचर्चाका कार्यक्रम सञ्चालन हुन थालेपछि यस योगका बारेमा ज्योतिषी र आमजनताको चासो बढेको देखिन्छ । यस योगको सिर्जना राहु र केतु ग्रहको अवस्थितिका आधारमा हुने गर्छ र यसको शान्तिप्रक्रिया एवं फलादेशमा राहु र केतुलाई नै विशेष महत्त्व दिने गरिन्छ । यस आलेखमा नजिकिंदै गरेको नागपञ्चमी पर्व र सामूहिक वा व्यक्तिगत रूपमा आयोजना गरिने कालसर्प योगको शान्तिकर्मलाई ध्यानमा राखी यस योगको सैद्धान्तिक पक्ष र आम व्यवहारमा देखिएका केही महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रयास गरिएको छ ।
जसरी मन्दिरमा भोग र अस्पतालमा रोगको महत्व हुन्छ, त्यसरी नै ज्योतिषमा योगको महत्व हुन्छ । ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरू छन् त्यसमध्ये ६३ प्रतिशत राम्रा योग हुन्छन् भने ३७ प्रतिशत नराम्रा योग हुन्छन् । ती मध्ये एउटा योगको नाम हो, कालसर्प योग । कालसर्प योग समग्रमा नराम्रो हुँदैन, यस योगका जातकहरू महापुरुषदेखि सर्वसाधारण जीवन यापन गर्ने मनुष्य बन्न वा हुन सक्दछन् ।
कालसर्प योगको गणितीय पक्ष
सामान्य अर्थमा कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रूपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ । आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ काललाई । मनुष्यलगायत सम्पूर्ण चराचर प्राणिको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन । यसैले प्राणिलाई मृत्युका सम्मुख पुर्याउँछ । सर्पलाई पनि कालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो, जसले व्यक्तिविशेषलाई मानसिक रूपले संवेदनशील बनाउँदछ र जीवनमा कतिपय ऊहापोहसँग ऊ गाँसिन पुग्छ । हामीले व्यवहारमा मान्दै आएका नवग्रहहरूमध्ये आकाशमा हेर्दा निश्चित खगोलीय पिण्ड नभएका दुईवटा ग्रह छन् । ती वास्तवमा ग्रह नै होइनन् । ती चन्द्रमा र सूर्यको परिभ्रमण पथमा काटिएका दुईवटा विन्दु हुन् । चन्द्रमा र सूर्यको परिभ्रमण पथको मिलनविन्दुमा दुईवटा छायाका धब्बा देखिन्छन् । ती छायाहरू एकआपसमा १८० डिग्रीको दूरीमा हुने गर्दछन् । त्यसैले पूर्वीय दर्शनमा आधारित ज्योतिषशास्त्रले राहु र केतुलाई छायाग्रह भन्ने गरेको पाइन्छ, जबकि अङ्ग्रेजीमा यिनलाई नोड (Node) भन्ने गरिन्छ । नक्षत्रविज्ञानका अनुसार राहुको नक्षत्र भरणी र केतुको नक्षत्र अश्लेषा मानिदैं आएको छ भने नक्षत्रपतिको गणना गर्दा भरणीको देवता यमराज वा काल र अश्लेषाको देवता सर्प मानिएको छ । त्यसैले नक्षत्रका अधिदेवताका नाममा राहुलाई काल र केतुलाई सर्पका रूपमा उल्लेख गरेर राहु र केतुको संयुक्त नामका रूपमा यी दुईलाई काल र सर्प वा कालसर्प पनि भन्ने गरेको पाइन्छ । पूर्वीय ज्योतिषशास्त्रमा राहु र केतुको प्रभावमा जन्मलिने जातकलाई दुःखी, क्रूर, निर्धन र परान्नमा आश्रित हुन्छन् भनी बताइएको छ । सामान्यतया अश्विनी, आर्द्रा, मघा, स्वाती, मूल र शतभिषा नक्षत्रमा जन्मिएका जातकको जन्मकालको महादशा केतु वा राहु ग्रहको अधीनमा हुने गर्दछ । त्यस्तै केन्द्रवर्ती राहु वा केतु अथवा आठौं घरमा रहेको राहु र केतुलाई पनि अनिष्ट नै मान्ने चलन छ । यस सन्दर्भमा एउटा श्लोक उदाहरणीय छ –
विषयाः क्रूराः निःस्वान्नित्यं दुःखार्तिदाः सुदीनाश्च ।
परभक्षपाननिरताः सर्पप्रभवाः भवन्ति नराः ॥
अर्थात् सर्पयोगमा जन्म लिने व्यक्ति कुटिल, क्रूर, निर्धन, दीनदुःखी र परान्नमा निर्भर हुने गर्दछन् ।
योगका रूपमा कालसर्प योगको चर्चा ज्योतिषका आधिकारिक ग्रन्थहरूमा कतै पनि भेटिंदैन । हाम्रा गाउँघरका कहलिएका बुढापुराना ज्योतिषीहरूले यस योगको कुरा निकाल्दैन थिए । पुस्तक र पत्रपत्रिकाको प्रकाशनको बाढी आएपछि र रेडियो टेलिभीजनमा कार्यक्रम प्रसारण हुन थालेपछि यस योगको सिर्जना भएको भन्दा अत्युक्ति हुँदैन । हुन त राहु र केतुको फलप्रकरणका बारेका पुराना ग्रन्थमा पनि उल्लेख नभएको होइन, जस्तै राहुको आकार मुख र केतुको आकार पुच्छरका रूपमा विभाजित सर्पको जस्तो छ भनी कसैकसैले भनेका छन् भन्ने बराहमिहिरको लेखन विशेष स्मरणीय छ : मुखपुच्छविभक्ताङ्गं भुजङ्गमाकारमुपदिशन्त्यन्ये ॥
त्यसैले कालसर्प योग भन्ने नाम नै किटान नगरे पनि प्रकारान्तरबाट बराहमिहिर, परासर, गर्ग आदिले राहु र केतुका विविध स्वरूप र फलप्रकरणका बारेमा चर्चा गरेको पाइन्छ । सारावली, मानसागरी, जातकतत्त्व, भृगुसूत्र लगायतका ज्योतिषीय ग्रन्थहरूमा कालसर्प योगको चर्चा त छैन तर राहु र केतुका विशेषता र फलादेशका बारेमा पर्याप्त चर्चा परिचर्चाहरू भएका छन् । हिजोआज कालसर्प योगको फल बताउने क्रममा मुख्यतः राहु ग्रहले पार्ने प्रभावको चर्चा गर्ने गर्दछन् । त्यसैले कालसर्प योग ज्योतिषशास्त्रको आधिकारिक योग होइन, यो राहु ग्रहले जन्मकुण्डलीमा प्राप्त गरेको विशेष बल मात्र हो । अतः कालसर्प योगको डर देखाउने र डर मान्ने दुबै पक्ष ढुक्क भए हुन्छ, यस योगका कारणले मात्र मानवले छुट्टै हण्डरठक्कर खाएर भौंतारिनु पर्दैन । हो, तपाईंको कुण्डलीमा अरु शुभकारक योगको कमी छ वा अशुभ योग बलवान् छन् भने तपाईंले केही गर्न सक्नुहुन्न, अझ कालसर्प योगको प्रभावसमेत छ भने तपाईंले डराउनु जायज नै हुनेछ ।
वैज्ञानिक विचार
आकाशमा राहु र केतुको कुनै पनि भौतिक पिण्ड नभएका कारणले ज्योतिषशास्त्रले यी दुबै ग्रहलाई छायाग्रह मान्ने गरेको छ । वैज्ञानिक मतमा खगोलीय वृत्तमा जुन ठाउँमा सूर्य र चन्द्रमाको परिभ्रमणपथको काल्पनिक रेखाको मिलन हुन्छ, त्यस बिन्दुविशेषलाई राहु र केतु नाम दिइएको हो । अङ्ग्रेजी भाषामा Node नाम भएका यी राहु र केतु बिन्दुहरू जहिल्यै पनि १८० डिग्रीको दूरीमा रहन्छन् । सूर्यादि सातवटा ग्रहको भ्रमणपथ प्रायशः घडीको सूइको विपरीत दिशा (Anti-clockwise) मा हुने गर्दछ, तर यी घडीको सुइ जसरी (Clockwise) घुम्ने गर्दछन् । सूर्यादि ग्रहहरू आआफ्ना भ्रमणपथमा भिन्नभिन्न गतिले भ्रमण गर्ने हुनाले पृथ्वीमा बसेर अवलोकन गर्नेहरूले सूर्यलगायतका सातवटा ग्रहहरू (राहु र केतुबाहेक) लाई एउटै अर्द्धवृत्तमा वा १८०˚ भित्र देख्ने परिस्थिति सिर्जना हुनुलाई दुर्लभ नै मानिन्छ । अझ छायाग्रहका रूपमा मानिएका दुई विन्दुहरू राहु र केतुको बीचमा माथि उल्लेखित सातै ग्रहहरू एकत्रित हुनु त झनै दुर्लभ हुन्छ । यही राहु र केतुको बीचमा सबै ग्रहहरू रहेको देखिने दुर्लभ परिस्थिति विशेषलाई नै वास्तवमा कालसर्प योग भन्ने गरिन्छ ।
तपाईंको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्द्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्द्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो । अर्को शब्दमा जब तपाइको चिनामा भएका सबै ग्रहहरू राहु र केतु को बीचमा हुन्छन् अनि निर्माण हुन्छ - काल सर्प योग । मूलत: राहु-केतु भौतिक ग्रह नभएर आध्यात्मिक ग्रह हुन् । अत: यी दुबै ग्रहका सम्बन्धमा विशेष अध्ययन गर्नु नितान्त आवश्यक छ । वास्तवमा राहु र केतु दुबै ग्रहको हाम्रो कर्मगत फलसँग अति गहिरो सम्बन्ध छ । यी ग्रह जीवनका सूक्ष्मतम बिन्दुसँग असाध्यै नजिक छन् । यी दुबैको सोझो सम्बन्ध हाम्रो चेतनासित छ । त्यसैले राहु र केतु यी दुईवटै ग्रह आफ्नो प्रभाव देखाउन शीघ्रता गर्दछन् ।
भलै आफ्नो पद, गरिमा र व्यक्तित्व विकासका लागि कडा मिहिनेत, सङ्घर्ष र तपस्या गर्नु परेको होस्, तर सबै कालसर्प योग भएका मानिस असफल र निराश नै हुनु परेको छैन, उनीहरूले जेजसरी भए पनि आफूलाई वरिष्ठ तुल्याएरै छाडेको देखिन्छ । यहाँ कालसर्प योग परेका भनी मानिएका त्यस्ता केही व्यक्तित्वहरूको नामावली र कालसर्प योगको नाम लेखिएको छ, जसले आफ्नो जीवनलाई सार्थक र प्रेरणादायी बनाउने सफलता आर्जन गरेका छन् । कालसर्पयोग परेका ती चर्चित व्यक्तित्वहरू :-
• गौतमबुद्ध (आंशिक, पृष्ठोदय, धर्मप्रवर्तक)
• पृथ्वीनारायण शाह (आंशिक, मुखोदय, आधुनिक नेपालका प्रथम राजा)
• राजा प्रताप मल्ल (आंशिक, मुखोदय, कान्तिपुरका राजा)
• राजमाता योगमती (आंशिक, मुखोदय, ललितपुरकी शासक, राजमाता)
• बहादुर शाह (आंशिक, मुखोदय, नेपालका नायब, राजकुमार)
• चन्द्र शम्सेर (आंशिक, मुखोदय, नेपालका प्रधानमन्त्री)
• फत्येजङ्ग शाह (आंशिक, मुखोदय, नेपालका चौतरिया)
• पुष्पकमल दाहाल 'प्रचण्ड' (आंशिक, मुखोदय, नेपालका प्रधानमन्त्री)
• महात्मा गान्धी (आंशिक, पृष्ठोदय, भारतीय राष्ट्रपिता)
• डा. शङ्करदयाल शर्मा (आंशिक, मुखोदय, भारतीय राष्ट्रपति)
• अब्राहम लिङ्कन (पूर्ण, मुखोदय, अमेरीकी राष्ट्रपति)
• मुसोलिनी (पूर्ण, मुखोदय, इटालीका राष्ट्रपति)
• जवाहरलाल नेहरू (पूर्ण, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
• अटलबिहारी बाजपेयी (आंशिक, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
• राजीव गान्धी (आंशिक, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
• पी. वी. नरसिंह राव (आंशिक, मुखोदय, भारतीय प्रधानमन्त्री)
• टी. एन. शेषन (आंशिक, मुखोदय, भारतीय निर्वाचन आयुक्त)
• शत्रुघन सिन्हा (आंशिक, पृष्ठोदय, भारतीय सिने कलाकार)
• अनील कपुर (पूर्ण, पृष्ठोदय, भारतीय सिने कलाकार)
• मार्भन आटापट्टु (आंशिक, मुखोदय, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी(श्रीलङ्काली))
• लारा दत्ता (पूर्ण, मुखोदय, विख्यात विश्वसुन्दरी)
त्यसैले कालसर्प योग छ भनेर ङिस्रिक्क परेर निराश हुने काम छैन, कर्मप्रति इमान्दार भई लगनशील भएमा कालसर्प योग परेका मानिसहरूले पनि नाम, दाम, प्रतिष्ठा र इज्जत कमाएको देखिन्छ ।
कालसर्पयोगका आधारभूत पक्षहरू
राहु र केतुको बीचमा सबै ग्रहहरू फँसेर कालसर्प योगको सिर्जना हुन्छ । गणितीय विश्लेषण गर्ने हो भने संसारभरिका १२ भागका १ भाग मानिसहरू स्वतः कालसर्प योगमा जन्म लिन पुग्दछन् । तपाईंले कुनै वर्षको पात्रोको अध्ययन गर्नुभयो भने चाल पाउनु हुनेछ, वर्षभरिको कुनै न कुनै निश्चित अवधिभरि कालसर्प योगको सिर्जना हुन्छ । तर अहिले कर्मकाण्डी ज्योतिषीहरूले राहु र केतुको घेरामा सूर्यादि सातवटामध्ये छ वटा ग्रह रहेको र एउटासम्म ग्रह बाहिर बसेको अवस्थालाई समेत कालसर्प योग हो भनी व्याख्या गर्ने गरेको पाइन्छ । त्यसरी बनेको कालसर्प योगलाई आंशिक कालसर्प योग भन्ने गरिन्छ । अझ लग्नमा राहु वा केतु रहेको परिस्थितिलाई पनि कालसर्प योगकै अवस्था हो भनी शान्तिकर्म गराएको प्रसङ्ग पनि यदाकदा सुन्न र देख्न पाइन्छ । आठौं भावमा रहेको राहु वा केतुलाई पनि कालसर्प योगको प्रभाव हुने वर्णन गरेको पनि देखिन्छ । यी सबै कालसर्प योगको सम्भाव्यता अध्ययन गर्ने हो भने लगभग ४३ प्रतिशत मानिस कालसर्प योगको चपेटामा परेको देखिन्छ । त्यसो हुँदा कालसर्प योगका जातकले जान्नु र बुझ्नु पर्यो, मजस्तै योग भएका मानिस संसारमा ४३ प्रतिशत छन्, तिनको जे गति मेरो पनि त्यही गति त्यसैले मैलेमात्र किन दुःख पाउने ? अतः वास्तवमा कालसर्पयोगलाई ग्रहभ्रमणका क्रममा हुने एउटा गतिपरक योगका रूपमा लिई सोको समसामयिक विश्लेषण गरी उपचार गर्नु उचित हुन्छ ।
सामान्यतया देहायका अवस्थालाई मात्र कालसर्पयोग मान्नुपर्ने हुन्छ :-
सबै ग्रहहरू राहु र केतुको बीचमा एकापट्टिमात्र रहेको वा परेको हुनु पर्दछ । यसबारेमा भनिएको पनि छ -
अग्रे राहुरधः केतुः सर्वे मध्यगता ग्रहाः । योगोयं कालसर्पाख्यो शीघ्रं तं तु विनाशयेत् ॥
अथवा
अग्रे राहुः पृष्ठे केतुरन्तरस्थाः नवग्रहाः । कालसर्पो भवेद्योगो वंशनाशो भवेद् ध्रुवम् ॥
यदि सबै ग्रहहरू वा केही ग्रहहरू राहु वा केतुका साथमा रहेको भएमा पनि अंशात्मक रूपमा राहु र केतुको बीचमा सबै ग्रहहरू परेकै हुनुपर्दछ, सँगै बस्नासाथ सबै राहु र केतुको बीचमा छन् भन्ने हुँदैन ।
राहुबाट आठौंमा शनि परेमा पनि कालसर्पयोगको फल लागू हुन्छ ।
चन्द्रमाबाट आठौं राहु वा केतु परेमा पनि यस्तै फल प्राप्त हुन्छ ।
कुण्डलीमा राहु बलवान् छ, जस्तै लग्नमा, सातौं भावमा वा आठौं भावमा अरु कुनै ग्रहसँग युति बनाएर बसेको छ भने कालसर्प योगको फल लागू हुन्छ । कुण्डलीको कुनै भावमा राहु वा एक्लै उपस्थित छ भने त्यो निर्बल बन्न जान्छ, तर कुनै ग्रहसँग युति बनाएर संयुक्त रूपमा बसेको अवस्थामा छ भने राहु बलियो हुनपुग्छ र जुन ग्रहसँग टाँसिएको छ, त्यसको नैसर्गिक शुभ वा अशुभ फललाई उल्टो बनाएर प्रदान गर्दछ ।
कालसर्पयोगको फलका बारेमा चर्चा गर्दा, कुनै एउटा ग्रह राहु वा केतुको घेरा बाहिर परे पनि त्यसलाई आंशिक कालसर्पयोग भनेर व्याख्या गर्ने गरेको पाइन्छ । तर वास्तवमा त्यस्तो बाहिर परेको ग्रह बक्री अवस्थामा छैन र तपाईंको लग्नको मालिकको मित्र, अधिमित्र वा समभाव जनाउने ग्रह छ भने त्यस कालसर्प योगको नकारात्मक फल प्राप्त हुँदैन । यस किसिमको योग बनाएर बाहिर परेको ग्रहलाई पाश्चात्य ज्योतिषीहरू उपचारक वा बचाउने ग्रह (Saving Planet) भन्ने गर्दछन् ।
राहु र केतुको गति सदैव उल्टो देखिने हुनाले लग्नमा राहु भएको अवस्थामा सातौंमा केतु हुन्छ । यस अवस्थामा अन्य सबै ग्रह १२, ११, १०, ९ र ८ औं घरमा हुने परिस्थितिलाई वास्तविक कालसर्पयोग भनिन्छ र राहुको बाटोमा सबै ग्रह रहने हुनाले यही स्थितिलाई नै मुखोदय वा ग्रस्त कालसर्पयोग पनि भन्ने गरिन्छ । माथि बताइएको स्थितिमा सबै ग्रह दृश्यभागमा रहने हुनाले यसैलाई उदित गोलार्द्ध कालसर्पयोग पनि भन्ने प्रचलन छ । यसको ठीक विपरीत परिस्थितिलाई पृष्ठोदय कालसर्प योग, अस्तगत कालसर्प योग वा अनुदित गोलार्द्ध कालसर्प योग भन्ने गरिन्छ ।
कालसर्पयोगको गणना वा फलादेश गर्दा आधुनिक समयको अनुसन्धानबाट अस्तित्वमा आएका युरेनस, नेप्च्युन र प्लुटोलाई लिइएको हुँदैन ।
कालसर्प योगको प्रभाव
मुख्यत: जन्मकुण्डलीमा राहु र केतु नाम गरेका यी दुबै ग्रहको उपस्थितिका आधारमा आंशिक रूपमा जातकको आन्तरिक स्वभाव र रूचिको जानकारी लिन सकिन्छ । यी दुबै ग्रहको स्पष्ट व्याख्याबाट व्यक्तिले आफ्नो जीवनमा भविष्यमा आइपर्ने कठिनाइको पूर्वानुमान गरेर ती कष्टहरूबाट आफूलाई सुरक्षित राख्न सक्दछ । तर यी दुबै ग्रहको प्रभावका कारण जातक अन्तर्मुखी, मनोलोकमा विचरण गर्ने र अध्यात्मवादी बन्ने गरेको पनि देख्न पाइन्छ । केतु शब्दले ध्वजा अर्थ पनि प्रदान गर्दछ । तर यहाँ ध्वजा भनेको पताका वा झण्डा होइन, केतुलाई ध्वजा भन्नुको अर्थ हो - केतु परमात्माको शक्तिको मूर्त रूप हो । अतः केतुको प्रभाव र चेतनाबाट जातकले यस सृष्टिमा व्याप्त सर्वशक्तिमान्, सर्वव्यापी शक्तिको अनुभव गर्न सक्दछ । तपाईं कुण्डलीमा कालसर्प योग छ भन्ने बितिक्कै यसको चपेटामा फँसी हाल्नुहुन्न, तर तपाईंको कुण्डलीमा अन्य ग्रह बलवान् छैनन् र शुभकारक योगको कमी छ भने तपाईं अल्पायु, निर्धन र असफल हुने सम्भावना हुन्छ । यस्तो परिस्थितिमा तपाईंले जति सङ्घर्ष गरे पनि अनेकौं हण्डरठक्कर र निराशा हात पार्नुहुन्छ र पटकपटक मृत्युतुल्य कष्ट पनि व्यहोर्नु हुन्छ । अन्य योगको अभावमा वा कमजोरीले मात्र यस योगले प्राणिलाई किसिमकिसिमले दुःख र पीडा प्रदान गर्दछ, अनेकखाले कष्ट र तनाव भोग्नुपर्छ । त्यसैले कालसर्प योग आफैंमा गलत योग होइन, यो ज्योतिषशास्त्रको प्रामाणिक योग होइन, यसको उदय कर्मकाण्डीय मनोवृत्तिमा भएको हो र यो योग कुण्डलीका सामान्य सकारात्मक पक्ष र शुभ योगका कारण स्वतः नष्ट हुन्छ ।
तपाईंको जन्मकुण्डलीमा कालसर्प योग छ भनेर ठोकुवा गर्ने ज्योतिषीलाई मेरो कुण्डली यी शुभकारक स्थिति पनि छन् कि छैनन् भनेर प्रतिप्रश्न गर्नुस्, यदि तपाईंको कुण्डलीमा तीमध्ये कुनै एउटा मात्र कुरो रहेछ भने निश्चिन्त हुनुहोस् तपाईंको कालसर्प योगले तपाईंलाई उन्नति, प्रगति र व्यक्तित्व विकासमा कुनै किसिमको बाधा पुर्याउने छैन ।
सबै ग्रह सप्तमस्थानदेखि प्रथमस्थानसम्म रही शुभफलदायक छत्रयोग छ कि छैन ?
सबै ग्रह प्रथमस्थानदेखि सप्तमस्थानसम्म रही शुभफलदायक नौका योग छ कि छैन ?
सबै ग्रह चतुर्थस्थानदेखि दशमस्थानसम्म रही शुभफलदायक कुट योग छ कि छैन ?
सबै ग्रह दशमस्थानदेखि चतुर्थस्थानसम्म रही शुभफलदायक सर्प योग छ कि छैन ?
राहु ग्रह जन्मकुण्डलीको तेस्रो, छैटौं, दशम वा एघारौं भावमा उपस्थित छ कि छैन ?
राहु ग्रह बसेको राशि मिथुन, कन्या, मकर वा कुम्भ हो कि होइन ?
राहु र केतु ग्रह जन्मकुण्डलीको जुन भावमा बसेका भए पनि सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र वा शनि मध्ये कुनै ग्रह बसेको भन्दा भिन्न राशिमा बसेका छन् कि छैनन् ?
तपाईंको जन्मकुण्डलीमा सूर्य र बुध, चन्द्रमा र मङ्गल, चन्द्रमा र बृहस्पति ग्रहको युति (एउटै राशिको बसाइ) छ कि छैन?
आंशिक कालसर्प योग छ भने उक्त कालसर्प योगमा राहु र केतुको घेराभन्दा बाहिर बसेको ग्रह मार्गी र बलवान् छ कि छैन? र उक्त ग्रह लग्नको स्वामीको मित्र वा कारक हो कि होइन ?
माथिका प्रश्नमध्ये कुनै एउटामात्र प्रश्नको सकारात्मक हो वा छ भन्ने उत्तर आयो भने बुझ्नुस् तपाईंको कुण्डलीमा रहेको कालसर्प योगले केही पनि लछारपाटो लगाउँदैन । त्यस्तो अवस्थामा कर्ममा विश्वास गरी अघि बढ्नुस्, पक्का पनि विजयश्री तपाईंको पोल्टामा पर्नेछ ।
आमजीवनमा दाम्पत्यसुखको सकारात्मक र नकारात्मक प्रभावमा मङ्गल ग्रहसँगसँगै राहुको भूमिका पनि प्रबल भएको देखिन्छ । आन्तरिक मनोवृत्तिमा केतु ग्रहको अधिकार हुन्छ, त्यसैले लग्नमा राहु भएको कुण्डलीको सातौं भावमा केतु ग्रह बसेको हुन्छ । केतु ग्रह जुन भावमा बस्दछ, मानिसको मनोवृत्ति त्यसै कर्मप्रति लिप्त हुन्छ, जस्तै लग्नमा केतु बसेका व्यक्तिको मनोवृत्ति व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको महत्त्वाकाङ्क्षामा केन्द्रित हुन्छ । त्यस्तै दोस्रो भावको केतुले धनसङ्ग्रहप्रति, तेस्रोभावमा भए सामाजिक प्रतिष्ठा, चौथो भावको गृहसुखमा, पाँचौं भावको केतुले उच्च अध्ययनतर्फ मानिसलाई केन्द्रित बनाउँछ । त्यसरी नै सातौं भावको केतुले यौन क्रियाकलाप र प्रणयप्रसङ्गमा केन्द्रित बनाउँछ । त्यसैले पनि दाम्पत्यप्रसङ्गमा राहुको विशेष भूमिका हुन्छ । कालसर्प योगमा राहुको कारकत्व रहने भएकाले यस योगमा जन्मिने जातकमा दाम्पत्य जीवनसम्बद्ध छुट्टै वैशिष्ट्य देखिने गर्दछ ।त्यसबाहेक दाम्पत्यजीवन यौनमा मात्र आधारित सम्बन्ध होइन, समुन्नत, सम्मृद्ध र दीर्घजीवी सन्तानको आकाङ्क्षा प्रत्येक दम्पतीले राखेका हुन्छन् । केतु ग्रह सन्ततिसुखको कारक ग्रह मानिन्छ । तपाईंका सन्ततिको व्यक्तित्व विकास, सुस्वास्थ्य, दीर्घायु र सम्मृद्धिका लागि केतु ग्रह बलवान् हुनु आवश्यक मानिन्छ । त्यसैले कालसर्प योग भएका जातकको सन्ततिसुख खासगरी पुत्र सन्तानको अभाव भएको देखिन्छ । अतः तपाईंको कुण्डलीमा रहेको कालसर्प योगले कतै दाम्पत्य जीवनमा कठिनाइ उत्पन्न गर्छ कि वा सन्तानबाधा त गर्दैन भन्ने चिन्ता हुनु स्वाभाविक नै हो । त्यसैले तपाईंको जन्मकुण्डलीमा कालसर्प योग छ भने आफ्नो पति वा पत्नीको कुण्डलीमा पनि निम्न लक्षणहरू खोज्नुस्, यदि ती लक्षण छन् भने पनि त्यस कालसर्प योगले तपाईंको दाम्पत्य जीवन र सन्ततिपक्षमा कुनै नकारात्मक स्थिति सिर्जना गर्न सक्दैन ।
पति वा पत्नी मूल संज्ञक नक्षत्र (अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल र रेवती नक्षत्र) र भरिणी नक्षत्रमा जन्म भएको छ भने
पति वा पत्नीको जन्मकुण्डलीमा स्पष्ट कालसर्प योग (आंशिक वा पूर्ण) छ भने
पति वा पत्नीको कुण्डलीमा राहु ग्रह केन्द्रवर्ती भएर बसेको छ भने वा राहु ग्रह आठौं भावमा बसेको छ भने
पति वा पत्नीको कुण्डलीको लग्न मिथुन, कन्या, मकर वा कुम्भ छ भने
पति वा पत्नीको सर्य योनि वा सर्प वर्ग छ भने
कालसर्प योगका किसिम
वास्तविक कालसर्प योग के हो ? र यसको मान्यता के कसरी प्रारम्भ भएको भन्ने विषयमा माथि नै चर्चा भइसकेको छ । कालसर्प योगको नाम दिए पनि वा राहुको विशेष अधिकार माने पनि यसका केही पक्षलाई मनन गर्नै पर्ने हुन्छ । त्यसैले अहिलेका आधुनिक भनौंदा ज्योतिषीहरूको विवेचनालाई उल्लेख गर्नु वाञ्छनीय नै मान्नु पर्दछ । सारांशमा राहु र केतुको घेरा बाहिर एउटासम्म ग्रह भएको अवस्थामा पनि व्यक्तिलाई व्यवहारमा आंशिक असर पर्न जाने पक्षलाई मध्यनजर राखी पूर्ण कालसर्पयोग र आंशिक कालसर्पयोग भनेर वर्गीकरण गर्ने जनधारणा रही आएको छ । यस आधारमा पूर्ण र आंशिक कालसर्पयोगका विविध भेद भनेर ३४५६ किसिमका कालसर्पयोगको अवधारणा आधुनिक ज्योतिषीहरूले अघि सारेका छन् । यस मान्यताअनुसार १२ भावगत र १२ राशिबाट १४४, उदित र अनुदित भेदले २८८ र ती हरेकमा एकएक भावमा एकएक ग्रह राहु र केतुको घेराबाहिर पर्दा बन्ने आंशिक योगको भेदसहित गणना गर्दा ३४५६ प्रकारका हुने देखिन्छ तर पनि निम्नलिखित १२ योगलाई विशेष महत्त्वपूर्ण मानिन्छ । ती हुन् :-
१) अनन्त - बाल्यावस्थामा चोटपटक, स्वास्थ्यकष्ट र दुःखद पारिवारिक स्थिति, तर युवा र प्रौढावस्थामा देशदेशान्तरको यात्रा, बेमेल वा अन्तर्जातीय विवाह
२) कुलिक - दुःखद आर्थिक स्थिति, वाक्युद्ध
३) वासुकी - उच्च आर्थिक र सामाजिक उन्नति
४) शंखपाल - प्रभावशाली व्यक्तित्व तर निराश दिनचर्या
५) पद्म - तेज दिमाग र धनलाभ तर सन्तानपीडा
६) महापद्म - तीक्ष्ण तार्किक र दिमागी क्षमता, धन, मान र प्रतिष्ठावृद्धि तर यदाकदा स्वास्थ्यबाधा
७) तक्षक - देशपरदेशको यात्रा र व्यापारमा वृद्धि, तर वैवाहिक कष्ट र दुर्घटना
८) कर्कोटक - स्थान परिवर्तन योग तर जेल र अङ्गभङ्गको पनि भय
९) शंखचूड - भाग्यवृद्धि तर धर्मनाश र आकस्मिक वैराग्ययोग
१०) घातक - कर्मवृद्धि र पदप्रतिष्ठा प्राप्ति तर पितृनाश
११) विषधर - सामाजिक सम्मान र धनवृद्धि तर पुत्रबाधा
१२) शेषनाग - दुःखद बाल्यावस्था, धनक्षय, जेलबन्धन र अङ्गभङ्गको भय, तर स्थाननाश एवं देशपरदेशको यात्रा
यसरी संलग्न विवरण हेर्दा सामान्यतया ३, ६, ९, १०, ११ औं स्थानमा राहु बसेर बनाएको कालसर्पयोगको फल सुखद र सकारात्मक हुने गरेको पाइएको छ । यी समस्त कालसर्प योगहरू मध्ये कर्कोटक, विषधर, घातक र शंखचूड सबैभन्दा बढी दुष्प्रभावी हुन्छन् । बाँकी कालसर्प योग त्यति हानिकारक हुँदैनन् । यी कालसर्प योग हुने जातकले राहु ग्रह अथवा नागको विशेष पूजापाठ, स्वस्तिशान्ति गराउनाले नकारात्मक पक्षबाट जोगिन सकिन्छ । माथि उल्लेख गरिए झैं कालसर्प योगको दोष नलाग्ने अवस्था नभएको खण्डमा यसको दोषले जसलाई आक्रान्त तुल्याएको हुन्छ, त्यो व्यक्ति प्रायशः अन्यौलमय परिस्थितिमा रहने गर्दछ, निर्णय क्षमतामा कमी आउँछ, अनि कुनै पनि काम पनि सही तरिकाले गर्न सक्दैन, सधैंजसो भयग्रस्त रहन्छ वा उद्दण्ड क्रियाकलापमा सक्रिय हुन्छ । यी बाह्रै किसिमका कालसर्प योगको सङ्क्षिप्त परिचय यस प्रकार छ :-
राहु लग्नमा र केतु सप्तमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा अनन्त नामक कालसर्प योगको रचना हुन्