तावत् गर्जन्ति तीर्थानि, गङ्गाभागीरथी क्षितौ ।
यावन् नायाति पापघ्नी, कार्तिके हरिबोधिनी ।।
अर्थात् पृथ्वीमा जहाँसम्म पापलाई नाश गर्ने कार्तिक शुक्लको हरिबोधनी एकादशी आउन्नन् त्यहाँसम्म गङ्गा भागीरथी आदि तीर्थहरू गर्जन्छन् । यो भनाइले हरिबोधनी एकादशीको महाशक्तिलाई नमन गरेको बुझिन्छ । कृष्ण भगवान्ले युधिष्ठिरलाई भन्दैछन्– कार्तिक महिनाको शुक्लपक्षको प्रबोधिनी एकादशीमा भगवान् विष्णु जागा हुन्छन् । यस दिनलाई देवोत्थान पनि भनिन्छ । यो एकादशीको व्रतले हजार अश्वमेध यज्ञ र सात सय राजसूय गरे बराबर हुन्छ । भक्तिपूर्वक उपवास गर्नाले ऐश्वर्य, सम्पत्ति, उत्तम बुद्धि, राज्य तथा सुख पाउन सकिन्छ । कार्तिक महिनामा भगवान् जनार्दनलाई तुलसी पत्र, फुल अर्पण गरी भक्तिपूर्वक पूज्नाले र तुलसीको हरेक दिन दर्शन, स्पर्शन, ध्यान, नाम कीर्तन, स्तवन, अर्पण, सेचन, नित्य पूजन गरेमा त्यस्तालाई कोटीसहस्र युगसम्म पुण्य प्राप्त हुन्छ ।
यही एकादशीमा घरआगनमा मण्डप बनाएर तुलसीको विवाह गर्ने चलन छ । यो कार्यक्रममा नवग्रह तथा मातृकाको पूजा गरिन्छ । सेतो रङ, फुलको माला र पछ्यौरा वा सलहरूले तुलसीलाई सिँगार्ने चलन छ । भव्य मण्डप बनाएर विष्णुको प्रतीकको रूपमा निगालाको लिङ्गा गाडिन्छ । हाम्रो धर्ममा तुलसीको महिमा यसरी गाइएको छ । ''तुलसी त्वं जगत् माता तुलसी त्वं जगत् पिता'' यसरी तुलसीलाई संसारकै आमा र बा भनेर सम्मान बर्साइएको पाउँछौं । त्यसैले तुलसीको मठ भएको घर तीर्थ वा देवालयसमान हुन्छ । कार्तिक महिनाभरि सबै देवदेवी तुलसीमा निवास गर्छन् । तुलसीको सुगन्धले दशै दिशा पवित्र हुन्छ । त्यस्तो घरमा यमदूतहरू पस्न सक्दैनन् । गरुड पुराणले त यतिसम्म किटान गरिदिएको छ कि कार्तिक महिनामा एउटा तुलसी पत्र विष्णुलाई अर्पण गर्दा दश हजार गोदान गरे सरह फल प्राप्त हुन्छ ।
विज्ञानको आँखामा तुलसी बहुमुखी महौषधि हो । यसको पात, डाँठ वा पूmलको रसले रुघाखोकी, औलो भगाउँछ भने यसको रस जिउमा लगाएर सुत्दा लामखुट्टेको टोकाइबाट मुक्ति पाइन्छ । पञ्चामृत वा चरणामृतमा तुलसी पात राखेछि कुनै पनि कीटाणु पर्न सक्दैनन् । परे पनि त्यस्ता पेय पदार्थ अपेय बन्दैनन् । सर्प, बिच्छीजस्ता विषधरहरू तुलसीको अगाडि एकछिन पनि टिक्न सक्दैनन् । तुलसी पत्र नचढाई शालिग्रामको पूजा हुन सक्दैन । तुलसीको बास्नाले श्वासप्रश्वासका बिरामीलाई सन्चो दिन्छ । मर्न लागेका प्राणीहरूलाई तुलसी जल दिन सके मुक्त हुन्छन् ।
त्यसै गरी मरेको लास पोल्दा तुलसीको दाउरा थोरै मात्रामा प्रयोग गर्दा पनि वातावरण दुर्गन्धित बन्दैन । तुलसीसित सङ्क्रामक रोगलाई निरोध गर्ने अद्भूत तागत छ ।
‘हरि’को लाक्षणिक अर्थ विवेक हो । न्याय अन्याय, ठीक बेठीक, गुण अवगुण, उचित अनुचित छुट्याउने क्षमता नै विवेक वा हरि हो । त्यस्तो परमार्थ (परोपकारी) भाव जागा हुने वा ब्यूझने शुभ मुहूर्त भएरै यो दिनलाई ‘हरिबोधिनी’ एकादशी भनेर पुकारिएको हो ।
उहिल्यै कालनेमि नाम गरेका दैत्यले आफ्नी छोरी वृन्दालाई जालन्धर नामक दानवसित बिहे गरिदिए छन् । समुद्र मन्थन गरेको बेला महादेवको पसिनाबाट जालन्धरको जन्म भएको थियो । त्यति बेला महादेवको कुनै कुरामा स्वर्गका राजा इन्द्रले अपमान गरेका थिए । त्यसै भएर जालन्धरले आपूm समुद्रबाट जन्मिएको हुँदा महासागरबाट उत्पन्न भएका १४ रत्न इन्द्रसित माग्यो । अनि इन्द्रले दिन आनाकानी गरेछि उसले ब्रह्माको घोर तपस्या गर्यो । ब्रह्मा प्रसन्न भएर जालन्धरलाई वर दिए । जबसम्म तिम्रो स्त्री तिमीलाई छोडेर कुनै परपुरुषसित सम्बन्ध राख्दिनन् तब तिम्रो मृत्यु असम्भव छ । त्यसपछि जालन्धर सुरिएर इन्द्रलोकमा आक्रमण गरी अमरावतीमा विजयको झण्डा फहरायो ।
सबै देवताहरूको भागदौड मच्चियो । विष्णु भगवान् ज्यान बचाउन वैकुण्ठलोक पुगी लुक्नु भयो । आफ्नी परम प्रिया लक्ष्मीलाई सबै हाल बताउँदै उपायबारे लक्ष्मीसित अनुरोध गरे । लक्ष्मीले विष्णुसित वृन्दाको सती बलबारे बताइन् । सतीशिरोमणि वृन्दाको सतीत्व नष्ट गर्न देवगण असफल भएपछि स्वयम् विष्णु भगवान् जालन्धरको रूप लिएर गई सतीत्व हरण गरे । लगत्तै इन्द्रले जालन्धरको टाउको काटेर वृन्दाको आगनमा खसालिदिए । यो थाहा भएछि वृन्दाले विष्णुलाई श्राप दिइन् । विष्णु कालो ढुङ्गा बने । त्यसै बेलादेखि विष्णु शालिग्राम बने भने वृन्दा तुलसी भइन् । त्यसैले हिन्दू धर्म अनुयायीहरु तुलसी रूपी वृन्दाको विवाह बर्सेनि गर्छन् । हरि जागा हुने र मानव मनमष्तिष्क जाग्रत गराउने यो पर्व धेरै महत्व बोकेको पर्व हो ।