२०७८ को मङ्सिर महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल

२०७८ मङ्सिर महिनाको मासिक राशिफल

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आकस्मिक समस्या देखापरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। आवास, भूमि तथा सवारीसुख प्राप्त हुने समय छ। विलासी वस्तुहरू उपभोग गर्न पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले वैवाहिक मार्ग अवलम्बन गर्ने सम्भावना छ। यस महिनाले नयाँ काम प्रारम्भ गर्ने साइत जुराउनेछ। तर, लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। महिनाको उत्तरार्धमा गृहस्थी जीवन केही संघर्षमय बन्ने देखिन्छ। आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ, सजग रहनुहोला।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
व्यावहारिक दायित्व बढे पनि महिना उत्साहवर्धक रहनेछ। सानो प्रयत्नले विशेष उपलब्धि दिलाउन सक्छ। विभिन्न अवसरले जोस–जाँगर बढ्नेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। मित्रताको बन्धन अझ प्रगाढ हुनेछ भने प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। कष्टभावमा शनिको प्रभावले स्वास्थ्यमा बाधा, काममा विलम्ब, अर्थहानि जस्ता समस्या पनि आउन सक्छन्।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
महत्वाकांक्षी योजनाले चुनौती निम्त्याउने हुँदा महिनाको पूर्वार्ध अलि संघर्षमय रहनेछ। शुभचिन्तकहरू टाढिनेछन्। बलजफ्ती गर्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि, आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। आवश्यक भौतिक साधनसमेत जुटाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने रोकिएका काम पनि बन्नेछन्। आफ्ना कमजोरीमाथि खेल्नेहरू महिनाको उत्तरार्धमा निस्तेज हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगीका रूपमा देखा पर्नेछन्। घरायसी समस्या सुल्झनाले टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आर्थिक पक्षमा उन्नति भए पनि प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बलभन्दा बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई फाइदा हुनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ। सन्तानको सहयोग जुट्नाले रोकिएका काम बन्नेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ भने देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। महिनाको उत्तरार्धमा साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने सम्भावना छ। परिवारजनको सहमति नजुट्नाले आँटेको काममा बाधा हुन सक्छ। स्वास्थ्यमा मौसमी गडबडीले सताउनेछ। आफ्नो अधिकारका लागि पनि सजग रहनुपर्ला।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। पारिवारिक असमझदारीले पनि चिताएको काममा बाधा उत्पन्न हुनेछ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ। एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ। पद–प्रतिष्ठा प्राप्त हुनेछ भने मेहनतले कीर्तिमानी दिलाउन सक्छ। इच्छाशक्ति र लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। कृषि र व्यापारमा राम्रो फाइदा उठाउन सफल भइनेछ।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
महिनाको ग्रहस्थिति मध्यमफलदायी देखिए पनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रारम्भमा असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। आलस्य गर्दा धेरै काम रोकिए पनि बिस्तारै मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। शैक्षिक उपलब्धिले सम्मानित स्थान दिलाउनेछ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। अध्ययनका सन्दर्भमा देश–विदेशको यात्रा हुन सक्छ। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै गृहस्थी सुखसागरमा रमाउने समय छ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
अवसरको खोजीमा दौडधुप गर्नुपरे पनि प्रयत्न गर्दा अप्ठ्यारै कामसमेत सम्पादन हुनेछन्। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। अभिव्यक्ति कलामा निखारता आउनाले आफ्नो प्रतिभाद्वारा धेरैको मन लोभ्याउन सकिनेछ। मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सफल भइनेछ। ठूलो आशा देखाएर ठगी गर्नेहरूले भने सताउन सक्छन्। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ। महिनाको उत्तरार्धमा शीर्षभावमा आउने मंगलले गलत मार्गमा अग्रसर गराउने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुहोला।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
परिस्थिति कमजोर रहनाले चिताएको फाइदा नउठ्न सक्छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ। परिस्थितिलाई बेवास्ता गर्दा व्यवहारमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। विद्यार्थीहरूका लागि महिनाको उत्तरार्ध बढी लाभदायक रहनेछ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। आम्दानी र खर्चको सन्तुलन गर्न नसक्दा अर्थअभावले सताउन सक्छ।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
यस महिनामा केही उतारचढाव आउनेछन्। दौडधुप र लगनशीलताले मात्र काम सम्पादन हुनेछ। ठूलो आशा देखाएर झुक्याउनेहरूले सताउन सक्छन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ। तथापि विभिन्न अवसर प्राप्त भइरहनेछन्। लगानी र मेहनतबाट राम्रै प्रतिफल पाइनेछ। क्षमता प्रदर्शन गरेरै उपलब्धि हात पार्न सफल भइनेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन् भने व्यवसायले राम्रो आम्दानी दिलाउनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर पनि प्राप्त हुनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सफल भइनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
नोकरी तथा राजनीतिमा विशेष सफलता प्राप्त हुनेछ। अध्ययनमा पनि प्रगति हुने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। नयाँ व्यवसाय प्रारम्भ हुन सक्छ। सोख तथा विलासी मनोवृत्तिले खर्च बढाउनेछ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा मनग्य लाभ हुनेछ। विभिन्न उपहारसमेत प्राप्त होला। जीवनसाथीको स्वास्थ्य कमजोर रहनेछ भने घर–गृहस्थीमा केही समस्या आउन सक्छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
तारिफयोग्य कामले धेरैको मन लोभ्याउन सकिनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ भने थप लगानी बढाउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। धर्मकर्ममा प्रवृत्त भइनेछ। घरमा मंगलमय कार्य सम्पादन हुनेछ। राजनीतिमा सम्मानित स्थान प्राप्त हुनेछ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
विभिन्न अवसर प्राप्त भए पनि अरूका विषयमा चासो राख्नाले दुःख पाइनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। कामको दायित्व बढे पनि उपलब्धि कममात्र पाइने समय छ। बन्धुबान्धव तथा गुरुजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। बलजफ्ती गर्नाले हातमा आएका केही अवसर गुम्न सक्छन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययन तथा रोजगारीका लागि विदेश जाने अवसर प्राप्त हुन सक्छ। अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ। परिवारजनको सहयोगले विशेष कामहरू सम्पादन हुनेछन्।