कन्या राशि
कन्या राशिको लागि २०८० साल मध्यम रहन सक्छ। शनि ग्रह वर्षभरि गोचरमा षष्ठ स्थानमा रहने भएकाले शत्रुहरु पराजित हुनेछन्। स्वास्थ्य राम्रो रहन सक्छ भने धन लाभ हुनेछ। बृहस्पति, राहु तथा केतुको गोचरको प्रभाव केहि प्रतिकूल रहन सक्ने भएकाले स्वास्थ्यसम्बन्धी समस्याले सताउने, दुष्कर्ममा मन बढ्ने, शत्रु बढ्ने, धन नाशका साथै पीडासमेत खप्नु पर्ने हुन सक्छ ।
स्वास्थ्य
बृहस्पति ग्रहको अष्टम गोचर तथा राहु र केतु ग्रहको पछि गोचर अशुभ यो वर्ष सामान्य रहन सक्ने भएकाले चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ। त्यस्तै यो समयमा टाउको दुख्ने, शरीरमा कमजोरी देखा पर्ने, आलस्यता हुने, रिस धेरै उठ्ने र पाचनप्रणालीमा समस्या आउँन सक्ने रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिंदा राम्रो हुन्छ।
व्यापार/व्यवसाय/आर्थिक
शनि ग्रहको षष्ठ स्थानको अनुकुल गोचरको प्रभावले फलाम तथा सवारीसाधन सम्बन्धि क्षेत्र, जग्गाजमिन, निर्माण तथा अनुसन्धानको क्षेत्र, सुचनाप्रविधि इत्यादी व्यवसाय यो वर्ष राम्रो रहन सक्छ। शेयर बजारबाट पनि सामान्य लाभ होला। आर्थिक दृष्टिले असार, साउन, मङ्सिर र फागुन महिना शुभ रहेका छन् ।
पेशा/रोजगार
टेक्निकल तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति तथा सफलता प्राप्त गर्न सक्ने योग छ। कामबाट अपजसको सामना गर्नुपर्ने हुन सक्छ। शैक्षिक तथा कानुनी क्षेत्रमा काम गर्नेहरुको लागि समय सामान्य देखिन्छ।
प्रेम तथा पारिवारिक सम्बन्ध
राहुको सप्तम गोचर तथा केतुको दोश्रो गोचरले यो वर्षभरि प्रेम तथा पारिवारिक सम्बन्ध सामान्य नै रहन सक्ने छ। प्रेम जीवनमा असमझदारी बढ्ने तथा छुट्टिनु पर्ने अवस्था आउन सक्ने भएकाले ध्यान दिनुपर्छ। वैवाहिक जीवनमा आफ्नो मात्र विचार सहि मान्नुभन्दा जीवनसाथीको भावनालाई पनि कदर गर्नुपर्ने देखिन्छ।
आफन्तसँग अनावश्यक विवाद नगर्नु नै बेस हुनेछ। मातापितासँग द्वेष तथा मान्यजनप्रतिको सम्मानमा कमी हुन सक्ने रहेकाले ध्यान दिनुहोला।
शुभ रंग/अङ्क
कन्या राशिको लागि यो वर्ष खैरो, हरियो र पहेलो रङ्ग शुभ रहन सक्छ।
त्यस्तै २, ३, ६, ७, ९ अङ्क यो वर्षको लागि शुभ रहन सक्छ।
उपाय
तपाईंले बृहस्पति तथा राहु केतुको अशुभ गोचरफलको निवारणको लागि जप/पाठ तथा ग्रहशान्ति पुजा गर्न सक्नुहुन्छ। तपाईंले बिहिबारको दिन भगवान बिष्णुको पुजापाठ तथा दर्शन गरेर पनि गोचरको बृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ।