हाम्रो वैदिक शास्त्रहरुमा हरेक कर्मका लागि शुभाशुभ दिन तथा मुहूर्तहरु निर्धारण गरिएको छ। यात्रा गर्दा, नयाँ कामको सुरुवात गर्दा, विवाह व्रतबन्ध इत्यादी संस्कारहरु गर्दा, गृहारम्भ तथा गृहप्रवेश गर्दा इत्यादी हरेक कर्ममा शुभ समय अर्थात् शुभ मुहूर्त गर्ने हाम्रो परम्परा तथा संस्कार रहेको छ। कुनै कुनै कर्महरुको लागि बारको मात्र विचार गरेर गरियो भने पनि त्यसबाट लाभ लिन सकिन्छ। प्रत्येक व्यक्तिको जीवनमा लेनदेन रहेको हुन्छ। कसैले ऋण लिन्छ भने कसैले ऋण दिन्छ। आज हामी तपाईंलाई ज्योतिष शास्त्र अनुसार ऋण लिनदिन विशेष गरेर कुन-कुन बार राम्रो तथा नराम्रो रहेको छ भन्ने विषयमा यो लेख प्रस्तुत गर्दैछौँ।
यदि तपाईं कुनै व्यक्तिसँग वा बैङ्क तथा वित्तीय संस्थासँग ऋण लिँदै हुनुहुन्छ भने मङ्गलबारको दिन ऋण लिँदा ऋण तिर्न विभिन्न बाधा अवरोधहरु आउने र सहि समयमा ऋण तिर्न कठिन हुने भएकाले मङ्गलबार ऋण नलिँदा राम्रो हुन्छ भने यदि तपाईं कसैलाई ऋण दिँदै हुनुहुन्छ भने बुधबारको दिन ऋण दिँदा ऋण फिर्ता लिन धेरै गाह्रो हुने र ढिलासुस्ती हुन सक्ने भएकाले बुधबारको दिन ऋण नदिँदा राम्रो हुन्छ। त्यस्तै यदि तपाईंले ऋण लिनुभएको छ र ऋणको किस्ता वा व्याज भुक्तानी गर्दै हुनुहुन्छ भने मङ्गलबारको दिन ऋण तिर्नु शुभ हुन्छ भने यदि तपाईं ऋण लिन खोज्दै हुनुहुन्छ भने ज्योतिष शास्त्र अनुसार बुधबारको दिन ऋण लिनु शुभ हुन्छ।
अन्त्यमा मङ्गलबार ऋण नलिनु र बुधबार ऋण नदिनु र मङ्गलबार लिएर ऋण तिर्नु र बुधबार ऋण लिनु उत्तम हुने ज्योतिष शास्त्रमा उल्लेख रहेको छ।
यसै सन्दर्भमा रहेर "बृहद् होडाचक्रविवरणम्" नामक ज्योतिष ग्रन्थको श्लोक हामीले यहाँ प्रस्तुत गरेका छौँ-
ऋणं भौमे न गृह्नीयान्न देयं बुधवासरे।
ऋणच्छेदं कुजे कुर्यात् संचयं सोमनन्दने।।