"दी, दू, थ, झ, ञ, दे, दो, चा, ची" यी ९ अक्षर मध्ये कुनै एक अक्षरबाट आफ्नो नाम सुरु भएमा, त्यसको मीन राशि हुन्छ। मीन राशिमा जन्मेको व्यक्तिको राशिस्वामी बृहस्पति, द्विस्वभाव संज्ञक, शीतल स्वभाव, कफ प्रकृति, विप्रवर्ण, स्थुल शरीर एवं साधारण बानी भएको होला। उत्तरदिशाको स्वामी राशि भएकोले उत्तर दिशातिर बाट राम्रो लाभ मिल्न सक्ला।
यस राशिको व्यक्तिले सपना अधिक देख्ला, व्यापारबाट राम्रो लाभ होला। आइतबार, सोमबार, मङ्गलबार र बिहीबारको दिन गरेका काम राम्रो होला भने बुधबार र शुक्रबारको दिन खासै राम्रो नरहला। यस राशिको व्यक्ति गम्भीर चेष्टा राख्नेवाला, शुरबीर, बोल्नमा चतुर, क्रोधी (रिसाहा), कृपणी, आफ्नो गुणको कारण सबैको पुज्य, कुलमा प्रिय, देवताको ज्यादै भक्त, छिटो हिड्ने, सङ्गीतमा रुचि राख्ने, सुन्दर शरीरवाला, आफन्तको प्रिय, केहि अग्लो, स्त्री वशीभूत, पण्डित समान श्रेष्ठ, दयालु होला। त्यो बाटुलो अनुहारवाला, लामो कद वाला, मिठो बोली बोल्ने, अनेक देशको यात्रा गर्ने र परदेशबाट धन कमाउने, सन्तानले युक्त, गर्मीबाट हुने रोग भएको, पशु र सवारीसाधन भएको, बहुविवाह गर्न सक्ने, जागिरबाट भन्दा आफ्नो ब्यबसायबाट धेरै लाभ मिल्ने होला।
निज व्यक्तिलाई छैटौँ सूर्य, बाह्रौं चन्द्र, चौथो मंगल, लग्नको बुध, पाँचौं बृहस्पति, छैटौँ शुक्र, दोश्रो शनि, सातौँ राहु वा केतु, फाल्गुन महिना, पन्चमी, दशमी र पूर्णिमा आदि पूर्णातिथिहरु, शुक्रबार, तुला राशि(स्त्री), अश्लेषा नक्षत्र, बैधृति योग, चतुष्पद करण, सिंह लग्न (यात्रामा) घातक मानिन्छ। यसको मेष, कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवालासँग मित्रता रहन्छ। वृष, मिथुन, कन्या र तुला राशिवालासँग शत्रूता रहन्छ भने शेषराशि मकर र कुम्भ राशिसँग समभाव रहन्छ। अत: निज व्यक्तिले मेष, कर्कट, सिंह, वृश्चिक, कुम्भ र मीन राशि मध्य कुनै सँग विवाह गर्दा राम्रो हुन्छ। निज व्यक्तिलाई १, १०, १९, २७ र ५३ वर्षमा खराब समय आउँला।