"गु, गे, गो, सा, सि, सु, से, सो, दा" यी ९ अक्षर मध्ये कुनै एक अक्षरबाट आफ्नो नाम सुरु भएमा, त्यसको कुम्भ राशि हुन्छ। कुम्भ राशिमा जन्मेको व्यक्तिको राशिस्वामी शनि, स्थिर संज्ञक, क्रूर बानी, शुद्रवर्ण, पुड्को शरीर, मृदुबचन, व्यभिचारी, कालो वा गहुँगोरो वर्णवाला, कडास्वभाव, मध्यम प्रकृति, मुख र खुट्टामा कालो कोठी वा तिलको दाग भएको, छातिमाथि वा कोखोको तलतिर वा खुट्टाको औलामुनी कालो दाग वा खत भएको, सन्तान अधिक भएको, कहिले धेरै धन हुने कहिले नहुने, गर्मीबाट हुने रोग भएको, बाल्य अवस्थामा पानीमा डुब्ने वा आगोले पोल्ने भय होला।
पश्चिम दिशातिर बाट लाभ होला। यसलाई बुधबार, शुक्रबार र शनिबारको दिन काम प्रारम्भ गर्दा राम्रो लाभ होला भने आइतबार, सोमबार, मङ्गलबार र बिहीबार सुरु गरेको कामबाट खासै लाभ नमिल्ला। यस राशिवाला व्यक्ति दाता, उष्ण स्वभाव, रिसाहा, नँया कुराको अनुसन्धान गर्नमा रुचि राख्ने, धार्मिक, सङ्गीतप्रिय, शान्त, केहि अल्छि भएपनि कुशल, कृतज्ञ, राम्रो शरीरवाला, धन र विद्या आर्जन गर्नमा लागिरहने, निर्भयवाला, कम अग्लो, पातलो, व्यभिचार र धनमा धेरै आसक्त होला।
निज व्यक्तिलाई दोश्रो सूर्य, एघारौँ चन्द्र, तेश्रो मंगल, बाह्रौं बुध, चौथो बृहस्पति, पाँचौं शुक्र, लग्नको शनि, छैटौं राहु वा केतु, चैत्र महिना, तृतीया, अष्टमी र त्रयोदशी आदि जयातिथिहरु, बिहीबार, कर्कट राशि(स्त्री), आर्द्रा नक्षत्र, गण्ड योग, किंस्तुघ्न करण, मिथुन लग्न (यात्रामा) घातक मानिन्छ। यसको वृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ राशिवालासँग मित्रता रहन्छ। मेष, कर्कट, सिंह र वृश्चिक राशिवालासँग शत्रूता रहन्छ भने शेषराशि धनु र मीन राशिसँग समभाव रहन्छ। निज व्यक्तिलाई ५, २५, ३५ र ४५ वर्षमा खराब समय आउँला।