"ये, यो, भा, भी, भू, ध, फा, ढा, भे" यी ९ अक्षर मध्ये कुनै एक अक्षरबाट आफ्नो नाम सुरु भएमा, त्यसको धनु राशि हुन्छ। धनु राशिमा जन्मेको व्यक्तिको राशिस्वामी बृहस्पति, द्विस्वभाव संज्ञक, पित्त प्रकृति, क्षेत्रियवर्ण, पुष्ट शरीर, सुन्दर स्वरुप, मृदु वचन, दयालु, दिनमा बली पूर्व दिशाको स्वामी हो र यो राशिलाई कुनै काम दिनमा पूर्वतर्फ लागेर गर्दा राम्रो होला। यस राशिको मुखमा, कोखो वा कम्मरको माथि कालो कोठी आदि चिन्ह होला।
यस राशिको व्यक्तिले धन पनि अधिक कमाउला र खर्च पनि अधिक गर्ला, व्यापारबाट राम्रो लाभ होला। आइतबार, सोमबार, मङ्गलबार र बिहीबारको दिन गरेका काम राम्रो होला भने बुधबार र शुक्रबारको दिन खासै राम्रो नरहला। यस राशिको व्यक्ति शूरबीर, पवित्र, लोकप्रिय, शिल्पविद्यामा निपूर्ण, धनवान्, मान भएको, असल चरित्रवाला, कोमल, प्यारो बोल्ने, तेजस्वी, बोल्नमा चतुर, अलप सन्तानवाला, महादानी, सरसफाईमा ध्यान दिने, पितृ सम्पतिले युक्त, साहित्य र कलामा रुचि भएको, प्रेमले बशमा आउने, कम अग्लो भएपनि कुप्रो परेर हिड्ने होला।
निज व्यक्तिलाई सातौँ सूर्य, चौथों चन्द्र, आठौँ मंगल, पाँचौं बुध, नवौँ बृहस्पति, दशौँ शुक्र, छैटौं शनि, एघारौँ राहु वा केतु, वृष राशि, भरणी नक्षत्र, बरियान योग, तैतिल करण, धनु लग्न, शुक्रबार, श्रावण महिना, तृतीया, अष्टमी र त्रयोदशी आदि जयातिथिहरु घातक मानिन्छ। यसको मेष, कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवालासँग मित्रता रहन्छ। वृष, मिथुन, कन्या र तुला राशिवालासँग शत्रूता रहन्छ भने शेषराशि मकर र कुम्भ राशिसँग समभाव रहन्छ। अत: निज व्यक्तिले मेष, कर्कट, सिंह, वृश्चिक, कुम्भ र मीन राशि मध्य कुनै सँग विवाह गर्दा राम्रो हुन्छ। निज व्यक्तिलाई ८, १४, १८ र ४८ वर्षमा खराब समय आउँला।