"तो, ना, नी, नु, ने, नो, या, यि, यू" यी नौ (९) अक्षर मध्येबाट नाम सुरु भएमा वृश्चिक राशि हुन्छ। वृश्चिक राशिमा जन्मेको स्त्री वा पुरुषको राशि स्वामी मङ्गल स्थिर संज्ञा, नरम स्वभाव, विप्रवर्ण, कफ प्रकृतिवाला, रजोगुणी, उत्तर दिशाको स्वामी भएकाले उत्तर तिरबाट लाभ होला । यस राशिको व्यक्ति अल्पभोजी(थोरै खाने), राजसेवा वा राज्यसँग सम्बन्धित क्षेत्रबाट धन कमाउला , साथीभाईबाट राम्रो सहयोग होला भने आफन्तसँग विवाद रहला। आइतबार, सोमबार, मङ्गलबार र बिहीबारको दिन कुनै पनि काम सुरु गर्नको लागि राम्रो होला भने बुधबार र शुक्रबार खासै राम्रो नरहला।
निज राशिवाला ब्यक्ति बाल्य अवस्थामा परदेशमा रहने, रोगी, क्रुर स्वभाववाला, साहसी, परिवारमा धरै विवाद गर्ने, मिहिनेती, धेरै सन्तान भएको, स्पष्ट बोल्ने, जिद्धि स्वभावको, घमण्डी र दृढ निश्चयी होला।
वृश्चिक राशिलाई दशौँ सूर्य, सातौँ चन्द्रमा, एघारौँ मङ्गल, आठौँ बुध, बाह्रौं बृहस्पति, लग्नको शुक्र, नवौँ शनि, दोस्रो राहु तथा केतु, रेवती नक्षत्र, व्यतिपात योग, गर करण, वृश्चिक लग्न (यात्राको लागि), मिथुन राशि, असोज महिना, प्रतिपदा, षष्टि र एकादशी आदि नन्दातिथिहरु घातक होला। मेष, कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवालासँग मित्रता रहला भने मिथुन र कन्या राशिसँग शत्रुता रहला। वृष, तुला, मकर र कुम्भ राशिसँग समभाव रहला। २, १२, २१, ३१, ५१ बर्ष कष्ठदायक समय होला।