"इ, उ, ए, ओ, बा, बि, बु, बे, बो" यी नौ (९) अक्षरहरु मध्येबाट नाम सुरु भएमा, त्यसको वृष राशि हुन्छ। अत: वृषराशि मा जन्मेको व्यक्तिको राशिस्वामी शुक्र, स्थिरसंज्ञा, कोमलस्वभाव, वैश्यवर्ण, दक्षिण दिशाको स्वामी, वात(श्वास) प्रकृतिवाला होला।
यस राशिको व्यक्तिको प्रथम स्थान वृष तथा शुक्र क्षेत्रस्थ राशि परेकाले गर्दा कृपणी होला। तृतीय स्थानमा कर्कट राशि परेकाले मुखको बनावट बाटुलो होला, मिठो बोल्ने, रजोगुणी, गोलाकार, दाहिने गोडामा वा कम्मरमा कोठी वा केहि कालो चिन्ह वा खत आदि रहला। पाँचौ स्थान कन्या राशि परेकाले सन्तान थोरै होलान्। छैटौँ स्थानमा तुला राशि परेकाले बाल्यअवस्थामा आँखाको रोगले दुख देला, तर पछि समाप्त भै पेट वा घाँटी सम्बन्धि समस्या आउँन सक्ला। आफ्नो श्रीमतीको वा श्रीमानको वशमा रहला, परस्त्री वा परपुरुषबाट लाभ होला। आठौँ धनु राशि भएकाले पेट वा घाँटीको समस्याले मरण होला। नवौं मकर राशि परेकाले दक्षिण दिशाको यात्रा गर्दा लाभ भए पनि त्यो ठाउँमा सत्पुरुषबाट लाभको आशा नगर्नु तर नीचबाट आशा गर्नु। दशौं कुम्भ राशि परेकाले सज्जनको संगतबाट लाभ नहोला किनकि मकर कुम्भ दुवै शनि गृह हो। एघारौँ मीन राशि परेकाले यसलाई पेटको रोग भइरहला। यसलाई अकस्मात् अर्काको कमाइ राखेको धन प्राप्त होला। कुनै समयमा वाहन (सवारी साधन) आदिबाट लड्ने डर छ। प्राय: गरेर उत्तम भोजन र राम्रो लुगा पहिरिएर हिड्ने छ। एउटा झुटो मुद्दामा फसेर पछि छुट्ला। यसले पूर्ण चन्द्रमा (पूर्णिमाको दिनको चन्द्र) लाई दर्शन गर्दा राम्रो हुन्छ। सेतो लुगा र सेतै वस्तु जडेको औठी लगाउदा राम्रो होला। ठुला मानिसबाट काम लोभ होला र मित्रहरुबाट दुखि पाउँला। सामाजिक, साहसी र शक्तिको दुरुपयोग नगर्ने होला।
यो राशि भएको व्यक्तिलाई आठौँ सूर्य, पाँचौं चन्द्रमा, नवौं मङ्गल, छैंठौं बुध, दशौँ बृहस्पति र शुक्र सातौँ शनि, बाह्रौं राहु तथा केतु, हस्ता नक्षत्र, वृष लग्न (यात्राको लागि), धनु राशि, शूलयोग, शकुनी करण, शनिबार, मार्ग महिना (मङ्सिर), पूर्णातिथिहरु (पन्चमी, दशमी र पूर्णिमा) घातक रहेको छ। यो राशिको लागि वृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ राशिसँग मित्रतापूर्ण सम्बन्ध होला। मेष, वृश्चिक, धनु र मीन राशिसँग समभाव होला भने सिंह र कर्कटसंग शत्रुता होला। अत: मिथुन, कन्या, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिसँगको विवाह वा मित्रता राम्रो रहला। ३, १६, २४, ३० र ५० वर्षको समय राशि अनुसार कष्टदायक रहन सक्छ।