बृहस्पति ग्रहको स्वरुप-
बृहस्पति ग्रहको वर्ण पहेंलो रहेको छ भने आखाँ केहि पिङ्गल र कपाल केहि घुंघरिएको हुन्छ। बृहस्पतिको छाती केहि उठेको र पुष्ट छ भने शरीर ठुलो हुन्छ। बृहस्पति ग्रहले कफ प्रकृतिसँग सम्बन्ध राख्छ। बृहस्पति ग्रह श्रेष्ठ बुद्धिले युक्त हुन्छ र यसलाई देवताको गुरु मानिन्छ। बृहस्पति ग्रहको बोली सिंह र शंखको ध्वनि समान गम्भीर आवाज हुन्छ भने यो धन प्रधान हुन्छ।
पीतद्युति: पिङ्गकचेक्षण: स्यात् पीतोन्नरोराश्च बृहच्छरीर:।
कफात्मक: श्रेष्ठमति: सुरेड्य: सिंहाब्जनादश्च वसुप्रधान:।।
बृहस्पति ग्रहसँग सम्बन्धित वा बृहस्पतिको कारक विषयहरु-
ज्ञान, सद्गुण, पुत्र, सचिव(मन्त्री), राम्रो आचरण, आचार्यत्व(अध्यापन), आचरण(चरित्र), महत्ता(श्रेष्टता), श्रुति(वेद), शास्त्र, स्मृति(मनुस्मृति इत्यादि) आदिको ज्ञान, सर्वोन्नति, सद्गति, देवता र ब्राह्मणमा भक्ति, धार्मिक अनुष्ठान, यज्ञ, तपस्या, श्रद्धा, कोषस्थल(खजाना), वैदुष्य(विद्वता), जितेन्द्रियता(इन्द्रियलाई जित्न सक्ने), पति सुख, सम्मान, दया आदि विषयको विचार बृहस्पति ग्रहबाट गर्न सकिन्छ।
ज्ञानं सद्गुणमात्मजं च सचिवं स्वाचारमाचार्यकं
महात्म्यं श्रुतिशास्त्रधीस्मृतिमतिं सर्वोन्नतिं सद्गतिम्।
देवब्राम्हणभक्तिमध्वरतप: श्रद्धाश्च कोशस्थलं
वैदुष्यं विजितेन्द्रियं धवसुखं सम्मानमीड्याद्दयाम्।।