शनि ग्रह सम्बन्धि केहि जानकारीहरु

 ज्योतिष शास्त्रमा शनिलाई ग्रह एक महत्वपूर्ण ग्रह मानिन्छ। पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ । ज्योतिष शास्त्रमा उल्लेख भएबमोजिम शनि दुष्ट, क्रोधी, अल्छी, लङ्गडा, कालो रङ भएका, विकराल, अग्ला, दुब्लोपातलो शरीर भएका ग्रह हुन् । उनको दृष्टि सदैव झुकेको हुन्छ, आँखा पहेंला र गहिरा छन् । शरीर र अङ्गप्रत्यङ्ग कठोर हुन्छ, रौं ठाडाठाडा तथा नङ र दाँत मोटा हुन्छन् । शनिश्चर वात प्रकृति र तमः प्रधान ग्रह हुन् । उनको रथ फलामको छ र वाहन गिद्ध हो ।

सामान्यतः एउटा राशिमा शनिश्चरले ३० महिनासम्म विचरण गरी सम्पूर्ण राशिचक्रलाई ३० वर्षमा परिभ्रमण गर्दछन् । ज्योतिषशास्त्रमा शनिलाई पापी र अशुभ ग्रह मानिएको छ । ग्रहमण्डलमा शनिको पद सेवकको हो । यिनी मकर र कुम्भ राशिका मालिक हुन् र तुला राशिमा उच्च तथा मेष राशिमा नीच हुन्छन् । कुम्भ राशि यिनको मूल त्रिकोण राशि मानिन्छ । कुण्डलीमा तेस्रो, सातौं र दसौं स्थानमा यिनको पूर्ण दृष्टि हुन्छ । गोचरमा शनिश्चरले प्रथम, द्वितीय, चतुर्थ, अष्टम र द्वादश स्थानमा विशेष अरिष्ट फल प्रदान गर्दछन् । छैटौं र आठौं भावको कारक ग्रह शनिश्चरलाई मान्ने गरिन्छ । यिनको सूर्य, चन्द्र र मङ्गल ग्रहसँग शत्रुता, बुध र शुक्रसित मित्रता र बृहस्पतिसित समभाव हुन्छ । स्वगृह, उच्चगृह, मूल त्रिकोण, मित्रगृहमा वा उच्च, स्व, मित्र, मूलत्रिकोण परेको नवांशकमा, शनिबारका दिन, दक्षिणायनमा, सन्ध्याकालमा, कृष्णपक्षमा, बक्रीअवस्थामा र वर्गोत्तम नवांशकमा शनि बलवान् र शुभकारक हुन्छन् ।

फलाम, मिलमेसिनरी, तेल, काला रङका चिजबिज, रोग, शत्रु, दुःख, स्नायुप्रणाली, मृत्यु, भैंसी, वातरोग, दुब्लोपन, लोभ, अभाव, कन्जुसी, एकान्त, मजदुरी, ठेकेदारी, अन्धकार, निराशा, आलस्य, मूर्खता, अपमान, छाला, पुराना वस्तुहरू, फोहोरमैला र कवाडी सामान, आयु, काठ, अलकत्रा, पिशाच बाधा, जोर्नी, छापाखाना, कोइला, पुरातत्त्व विभाग आदिमा शनिको वास हुन्छ । त्यस्तै शरीरमा कोढरोग, वातरोग, स्नायुरोग, खुट्टा वा घुँडाको रोग, पसिना वा शरीरको गन्ध, हाडजोर्नीको रोग, छालाको समस्या, दुर्घटना, उदासीनता, बाथरोग, थकाइ, पोलियो आदि रोगको कारक पनि शनिलाई नै मान्ने गरिन्छ । शनिले आफ्नो शुभ वा अशुभ फल प्रायः ३६ देखि ४२ वर्ष वा महिनाको उमेरमा, आफ्नो बार, शिशिर ऋतु, महादशा काल, उल्का योगिनीको दशावधि, साढेसाती वा अढैयाको समय र बृद्धावस्थामा प्रदान गर्ने गर्दछन् । उमेरका आधारमा शनिको बृद्धावस्थामा विशेष अधिकार हुन्छ । कुण्डलीमा शनिको उपस्थिति राम्रो छ भने जातकको बृद्धावस्था धनधान्य, भोगविलास, आनन्द र सुखसयलले बित्दछ ।

ग्रहसभामा शनिलाई सेवक र दण्डाधिकारीका रूपमा नियुक्त गरिएको छ । त्यसैले शनिको समयमा आफूले जीवनकालमा गरेका अशुभ कर्मको फल मनुष्यले भोग्ने गर्छ । सज्जन, सदाचार, सद्विचार र सत्कर्म गर्ने सज्जनको जीवनमा शनिको महादशा वा शनिपत्नी उल्काको समयमा पनि अशुभ फल प्राप्त भएको देखिंदैन । तर चोरबुद्धि भएका, फट्याइँ, जालसाजी, दलाली, परधनको उपभोग गर्ने र भ्रष्टाचारीले शनिको समयमा अनेकानेक कठिनाइ भोग्नुपर्छ । महादशामा सामान्यतया शनिको अवधिपूर्व बृहस्पतिको समय हुन्छ, त्यसैले बृहस्पतिको समयमा सुखसुविधा र आनन्दको भोग गरिरहेका व्यक्तिले त्यसपछि शनिको महादशाको भोग गर्नुपर्दछ, जसमा शनिले मनुष्यलाई जिम्मेबारी, उत्तरदायित्व, कर्तव्य, परिश्रम र कर्मको बोध गराउँछ, त्यसैले धेरै खट्नु र मिहिनेत गर्नु पर्ने भएकाले पनि शनिदेवलाई मानिसहरूले क्रूर ग्रहको दर्जामा स्थान दिएका हुनसक्छन् । वास्तवमा शनि न्यायप्रिय, सत्यवादी, कर्मशील, परिश्रमी र परोपकारी स्वभावका सर्जक ग्रह हुन् ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish