मङ्गल ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

मङ्गल बार, मेष र बृश्चिक राशि, मृगशिरा, चित्रा र धनिष्ठा नक्षत्रको स्वामी मङ्गल हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले मङ्गल ग्रहको महादशामा व्यक्तिले नैसर्गिक रूपमा सामान्यतया अशुभ फलहरु प्राप्त गर्ने गर्दछ, आगो र विषालु चिजबिजसित एवं हातहतियार, प्रतिद्वन्द्वी, राज्यपक्ष र अड्डाअदालतबाट मनुष्यले डर मान्ने समय हो, यो । घरपरिवारमा रोगले प्रवेश गर्दछ, आफ्नो स्वास्थ्यमा समेत चोटपटक र रोगव्याधिको सम्भावना हुन्छ । मानसिक उद्वेलन र चिडचिडेपना बढ्न सक्छ । कुण्डलीमा मङ्गल ग्रहको महादशाको समय वा भ्रामरी योगिनीको दशावधि छ भने जसले पनि मङ्गल ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा मङ्गल ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-

१ – रातो कपडामा मौलीसुप बाँधेर आफ्नो शयनकक्ष (Bedroom) मा राख्नाले मङ्गल ग्रहको शुभफल प्राप्ति हुन्छ ।

२ – मङ्गल ग्रहको मुख्य प्रभाव भएको व्यक्तिले घर बनाउँदा घरमा रातो मार्बल वा ढुङ्गाको प्रयोग गर्दा मङ्गल ग्रह प्रसन्न हुन्छ ।

३ – कम्तीमा वर्षमा एक पटक आफ्ना दाजुभाइ र बन्धुबान्धव जम्मा पारी गुलियो भोजन गराउँदा शुभफल प्राप्त हुन्छ, त्यस्तै नौ वर्षमुनिका बालकहरूलाई दैनिक रूपमा चकलेट बाँडेमा पनि मङ्गल ग्रह प्रसन्न हुन्छ ।

४ – रातो कपडामा दुई मुठी मुसुरोको दाल बाँधेर सिधा र दक्षिणाका साथमा हरेक मङ्गलबारका दिन भिखारीलाई दान गर्दा पनि मङ्गल ग्रह प्रसन्न हुन्छन् ।

५ – हरेक मङ्गलवारका दिन गणेश वा हनुमानको मन्दिरमा गई मूर्तिको पाउमा रहेको सिन्दूरको टीका लगाउने बानीको विकास गर्नुपर्छ ।

६ – कुनै देवालय वा तीर्थस्थलमा पुगेको वेला बाँदरलाई चना र गुड खुवाउनु पर्दछ ।

७ – आफ्नो घरवरपर वा बगैंचामा रातो फूल फुल्ने बोटबिरुवा रोपी त्यसको संरक्षण गर्नुपर्छ र प्रत्येक दिन प्रातःकालमा तिनलाई शुद्ध जलले सिञ्चन गर्नु पर्दछ ।

८ - मङ्गल ग्रहको महादशा चलिरहेको छ भने दैनिक गणेश कवच वा हनुमान् चालिसाको पाठ गर्ने एवं भगवान् गणेश वा हनुमानजीको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।

९ - प्रत्येक मङ्गलबारका दिन भगवान् गणेश वा भगवान् हनुमानको आराधना गरी देवालयमा आफैंले वा घरका कुनै सदस्यले चोखोनीतो गरी निर्माण गरेको २१ वटा लड्डु चढाउँदा लाभ हुन्छ ।

१० - मङ्गलवारको व्रत लिनुपर्छ, माङ्गलिक योगका कारण कुनै वर वा कन्याको विवाहमा विलम्ब भएको देखिन्छ भने त्यस्ता जातकले माथिका सबै उपाय अवलम्बन गरी कम्ती सात हप्ता मङ्गला गौरीको व्रत लिंदा उचित हुन्छ ।

११ - जटावाल नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दन राखी रातो कपडाले बाँधेर प्रत्येक मङ्गलबारका दिन बग्दो पानी लगातार सात हप्तासम्म बगाएमा मङ्गल ग्रहको शुभफल प्राप्त हुन्छ ।

१२ - बाँदर, रातो गाई, रातो कुकुर आदिलाई खान दिनु पनि मङ्गल ग्रहको शुभताका लागि राम्रो हुन्छ ।

यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र मङ्गल ग्रहको दुष्प्रभाव निवारणका निमित्त प्रारम्भमा मङ्गलवारका दिन, मङ्गल ग्रहको स्वामीत्व हुने नक्षत्र (मृगशिरा, चित्रा र धनिष्ठा) वा मङ्गलको होरामा अवलम्बन गर्नु राम्रो हुन्छ ।
मङ्गल ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
मङ्गल ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-

 

वैदिक मन्त्र – 
ॐ अग्निमूर्धा दिवः ककुत्पतिः पृथिव्या अयम्। 
अपा℧ रे ता℧ सिजिन्वति ।।

पुराणोक्त मन्त्र – 
ॐ धरणी गर्भ सम्भूतं विद्युत्कान्ति समप्रभम् । 
कुमारं शक्ति हस्तं ते मङ्गलं प्रणमाम्यहम् ।।

मङ्गल गायत्री मन्त्र – ॐ अङ्गारकाय विद्महे शक्ति हस्ताय धीमहि, तन्नो भौमः प्रचोदयात्।

तन्त्रोक्त मन्त्र – ॐ क्रां क्री क्रौं सः भौमाय नमः ।

लघु बीज मन्त्र – ॐ अं अङ्गारकाय नमः ।

मङ्गल ग्रहलाई अर्घ्य दिने मन्त्र –  
रक्तप्रवालसंकाश जपाकुसुमसन्निभ । 
महीसुत महाबाहो गृहाणार्घ्यं नमोऽस्तु ते ॥

मङ्गल ग्रहको जाप संख्या – १००००

मङ्गल ग्रहको रत्न – मङ्गल ग्रहलाई बलियो बनाउन पाँचदेखि आठ रत्तीको मुँगा रत्न सुन वा तामाको औंठी बनाई मङ्गलबारका दिन प्रातःकालमा भगवान् गणेशको पूजाआराधना गरी शुभ मुहूर्तमा धारण गर्नुपर्छ ।

दान सामग्री – मुसुरीको दाल, घिउ, सुन, मुँगा रत्न, तामाको भाँडो, करबीरको फूल, रक्त चन्दन, रातो कपडा, केशरी, नरिवल, गुलियो नैवेद्य, गहुँ । मङ्गल ग्रहको दानादि युवक र खाइलाग्दो ब्राह्मणलाई दिनु उपयुक्त हुन्छ ।

मङ्गलरत्न - मङ्गल ग्रहको शुभफल प्राप्त गर्न मुगा रत्न (८ क्यारेट) सुनमा औंठी दाहिने हातको माझको औंलामा धारण गर्ने विधान छ ।

मङ्गल ग्रहको यन्त्र – मङ्गल यन्त्रलाई ताम्रपत्रमा खोप्न लगाएर मङ्गलको होरा पारेर अथवा भोजपत्रमा  अष्टगंधले लेख्न लगाई  विधिवत् प्राणप्रतिष्ठा र पूजा गरी घाँटीमा वा दाहिने पाखुरामा धारण गर्दा शुभ हुन्छ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish