ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु

पृथ्वीको सतहमा पाइने मूल्यवान कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ । ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ । कमजोर तर राम्रो ग्रहका लागि औषधिको रूपमा यदि रत्न प्रयोग गरियो भने त्यसले राम्रो जीवनशैलीका लागि ग्रहको आयु लम्ब्याउन मद्दत गर्छ । यहाँ केही फरक फरक प्रकारका रत्नका बारेमा सामान्य प्रकाश पार्न खोजिएको छ जसले जन्म कुण्डलीको आधारमा सकारात्मक प्रभाव पर्ने गर्छन् :-

१.मणिकः

 

मणिक एक मूल्यवान पत्थर हो, जुन मेष लग्नका मानिसका लागि सकारात्मक मानिन्छ । यसको सम्बन्ध सूर्य ग्रहसँग हुन्छ । यो रत्नको धारणले सन्तान प्राप्ति तथा बौद्धिक शक्ति बढ्ने सम्भावना निकै उच्च हुन्छ । यो सिंह लग्न भएका मानिसका लागि पनि निकै फलदायी मानिन्छ । यसले सिंह लग्न भएका मानिसलाई सामर्थ्य प्रदान गर्नुको साथै आयु बढाउँछ । यसले धनु लग्नका मानिसका लागि धनलाभ गराउँछ । पश्चिमा ज्योतिषीय सिद्धान्तका आधारमा मणिक जुलाईमा जन्मिएका मानिसका लागि अतिउत्तम मानिन्छ । सामान्यतया सिंह राशि र आइतबार जन्म भएकाहरूका लागि पनि मणिक धारण फलदायी मानिन्छ ।

 

२. मोतीः

चन्द्रमाको रत्न मोती हो । कर्कट लग्न भएका मानिसका लागि मोती धेरै उत्तम मानिन्छ, जसले दीर्घायु तथा समृद्धि ल्याउनेछ । त्यसैगरी यसले वृश्चिक लग्न भएका मानिसलाई धन जोड्न सहयोग पुर्याउछ भने मकर लग्न भएका व्यक्तिलाई पारिवारिक सुख प्राप्त हुन्छ । यस्तै, मीन लग्न भएका मानिसमा ज्ञान वृद्धि गर्न र सन्तान प्राप्तिको सम्भावना उच्च पारिदिन्छ । पश्चिमा ज्योतिष मापदण्डका अनुसार मोती जुन महिनामा जन्मिएका मानिसका लागि धेरै उत्तम मानिन्छ । सामान्यतया कर्कट राशि र सोमबार जन्म भएकाहरूका लागि पनि मोती धारण फलदायी मानिन्छ ।

३. मुगाः

 

भगवान् गणेश, हनुमान जी र मङ्गल ग्रहसँग मुगा रत्नको सम्बन्ध हुन्छ । मेष र वृश्चिक लग्न भएका मानिसका लागि मुगालाई जन्म पत्थरको रूपमा लिइन्छ । सिंह र कर्कट लग्नका लागि पनि मुगा लाभदायक मानिन्छ । पश्चिमा ज्योतिषशास्त्रका अनुसार जनवरीमा जन्मिएकाहरूका लागि मुगा धारण उपयुक्त मानिन्छ । सामान्यतया मेष र वृश्चिक राशि र मङ्गलबार जन्म भएकाहरूका लागि पनि मुगा धारण फलदायी मानिन्छ ।

 

४. पन्नाः 

पन्ना रत्न बुध ग्रहको रत्न हो, यो एउटा त्यस्तो रत्न हो, जसको धारणले वृष लग्नका मानिसका लागि धनलाभ एवं ज्ञान वृद्धिमा सहयोग पुग्छ । यो धनु लग्नका लागि पनि सामान्य लाभदायक भए पनि अन्त्यमा खर्च बढाउने सम्भावना उच्च रहन्छ तर सिंह लग्नका लागि भने राम्रो मानिन्छ । त्यसैगरी धनु र मेष लग्नका मानिसको पारिवारिक सुख एवं व्यापार व्यवसाय बढाउन पन्ना धारण उत्तम मानिन्छ । सामान्यतया मिथुन र कन्या राशि एवं बुधबार जन्म भएकाहरूका लागि पनि पन्ना धारण फलदायी मानिन्छ ।

 

५. पुष्पराजः

 

देवताका गुरु बृहस्पतिसँग सम्बद्ध रत्नलाई पुष्पराज भनिन्छ, यो धनु र मीन लग्नका मानिसको उन्नतिका लागि सहयोगी पत्थर हो । यसले यी दुवै लग्नका मानिसको दीर्घायुमा मद्दत पुर्याउछ । त्यसैगरी प्रेम प्राप्तिका लागि यो रत्न मिथुन र कन्या लग्न भएकाहरूका लागि धेरै महत्वपूर्ण मानिन्छ । पश्चिमा ज्योतिषशास्त्रका अनुसार नोभेम्बरमा जन्मिएकाहरूका लागि पुष्पराजलाई जन्म पत्थरको रूपमा लिइन्छ । सामान्यतया धनु र मीन राशि एवं बिहीबार जन्म भएकाहरूका लागि पनि पुष्पराज धारण फलदायी मानिन्छ ।

६. हीराः

सुखसम्मृद्धि, यौन सामर्थ्य र घरायसी सुखका निम्ति हीराको महत्त्वपूर्ण भूमिका हुन्छ, यसको सम्बन्ध शुक्र ग्रहसँग हुन्छ । वृष र तुला लग्नमा जन्मिएका मानिसका लागि हीरालाई प्रमुख पत्थरको रूपमा लिइन्छ । यो रत्नको प्रयोगले पारिवारिक सुख बढाउनुका साथै सन्तान प्राप्ति हुने विश्वास छ । हीरा कन्या र कुम्भ लग्नका लागि धेरै मूल्यवान् मानिन्छ । यसले मकर लग्न भएकाहरूका लागि बौद्धिक शक्ति तथा सन्तान प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । सामान्यतया वृष एवं तुला राशि र शुक्रबार जन्म भएकाहरूका लागि पनि हीरा धारण फलदायी मानिन्छ ।

७. नीलमः

 

मिहिनेती र परिश्रमी व्यक्तिको पत्थर हो, नीलम । यसको सम्बन्ध शनि ग्रहसँग हुन्छ । मकर र कुम्भ लग्न भएका मानिसका लागि यो रत्न बढी उपयुक्त हुन्छ । यसले लामो आयु प्रदान गर्ने विश्वास गरिन्छ । यसको धारणले वृष र तुला लग्नका मानिसको भाग्यवृद्धि हुन्छ । सामान्यतया मकर एवं कुम्भ राशि र शनि बार जन्म भएकाहरूका लागि पनि नीलम धारण फलदायी मानिन्छ ।

 

८. गोमेदः

 

राहु ग्रहको पत्थरलाई गोमेद भनिन्छ । यस पत्थरले तत्काल कुनै पनि प्रकारका राम्रा वा नराम्रा नतिजा पैदा गर्ने क्षमता राख्छ । यो राहुको पत्थर भएकाले यसको असर प्रयोगकर्ताअनुसार तत्काल पर्ने हुन्छ । खास गरी सर्पयोग, नागदोष, राहुको महादशा, राशि वा लग्नबाट आठौं राहु आदि स्थितिमा गोमेद धारण गर्नुपर्दछ।

 

९. वैदूर्यमणिः(लहसुनिया):

 

केतु ग्रहको पत्थर लहसुनिया (वैदूर्यमणि, Cats' eye) भनिन्छ । अन्य पत्थरको तुलनामा यो एकदमै भिन्न प्रकारको पत्थर हो । यसको प्रयोग गर्नुअघि ज्योतिषशास्त्री र रत्नविज्ञहरूसँग सल्लाह लिनु ज्यादा फलदायी हुन्छ ।

विशेष :
हिजोआज मानव जीवनमा आउने अनेक प्रकारका समस्याहरूको समाधान गर्ने क्षमता भएकै कारण संसारमा रत्नहरूको माग धेरै छ। औषधि निर्माण देखि लिएर ग्रह समस्या समाधानका लागि प्रयोग गरिने धेरै प्रकारका रत्नहरू बजारमा उपलब्ध छन्। रत्न राशिबमोजिम धारण गर्ने होइन, यो त तपाईंको जन्मसमय, जन्मस्थान र जन्ममितिका आधारमा गणना गरी निर्धारण गरिने लग्नका आधारमा धारण गर्नुपर्छ। यदि तपाईंको चिना, जन्मपत्रिका वा टिपन बनाउनु भएको छ भने नजिकैको विज्ञ ज्योतिषीकहाँ सम्पर्क राखी आफूले धारण गर्ने रत्नका बारेमा पहिचान गर्न सक्नुहुन्छ। बिना अनुसन्धान र केवल राशिका आधारमा लगाएको रत्नले तपाईंलाई दुस्परिणाम पनि प्राप्त भैरहेको हुनसक्छ। 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish