हाम्रो संस्कार अनुसार आफ्नो आफन्तको मृत्यु हुँदा आशौच बार्ने परम्परा रहेको छ। पुस्ता अनुसार कति दिन आशौच बार्नुपर्छ भनेर पनि शास्त्रमा उल्लेख गरेको पाइन्छ। सामान्य अवस्थामा आशौच बार्न कुनै समस्या भएपनि यदि विवाहको समय निश्चित भएको छ र वर र कन्या पक्षमा तीन पुस्ताभित्र कसैको मरण भयो भने विवाह तोकिएकै समयमा गर्ने कि अर्को समयमा गर्ने भन्ने प्रश्न उत्पन्न हुन्छ। यसै विषयमा रहेर हामीले यो लेख तयार पारेका छौँ।
ज्योतिष शास्त्र अनुसार यदि विवाहको मुहूर्त निश्चित भइसकेपछि कन्या वा वरको तीन पुस्ताभित्र कसैको मरण भयो भने त्यसको एक महिनापछि विवाह गर्ने मिल्ने बताइएको छ। मतान्तरमा विभिन्न विद्वानहरुले अत्यावश्यक परेमा आशौच अवधि समाप्त भएपछि स्वस्ति-शान्ति गरेर एक महिनाभित्रै पनि विवाह गर्न मिल्ने बताएका छन्। यसै सन्दर्भमा मुहूर्त चिन्तामणि ग्रन्थमा भनिएको छ-
विध्वा द्वरस्याऽपि कुले त्रिपूरुषे नाशं ब्रजेत्कश्चन निश्चयोत्तरम् ।
मासोत्तरं तत्र विवाह इष्यते शान्त्याऽथवा सूतकनिर्गमे परैः ||
अर्थ: वर वा कन्याको विवाह समयमा तीन पुस्ताभित्र कसैको मृत्यु भयो भने एक महिनापछि विवाह गर्नु। केहि विद्वानहरुको मतमा आशौच समाप्त भएपछि स्वस्ति-शान्ति गरेर विवाह गर्न मिल्ने उल्लेख छ।