श्रीस्वस्थानी व्रतकथाको द्वाविंशोऽध्यायः, शिवशर्माको परलोकगमन

कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । 
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-

मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा 
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। 

अथ द्वाविंशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! शिवशर्मा ब्राह्मण र गोमा ब्राह्मणी त्यहाँबाट हिंडेपछि शिवभट्ट र सतीले आँखाले देखिएसम्म हेरे। देखिन छाडेपछि वृक्षमा चढेर हेरे। जब वृक्षबाट पनि देखिन छाड्यो त्यहीं वृक्षको हाँगामा बसेर अनेक विलाप गर्न लागे। दैवसंयोग त्यसै बखत रूखको हाँगा भाँचिएर दुवै स्त्री-पुरुष वृक्षबाट लडेर मरे। तब श्री महादेवका दूत आई विमानमा बसालेर कैलासपुरी लगे। तब ती दुवै दम्पति दिव्य देह भई कैलासपुरीमा शिवका पार्षद भएर रहँदा भए।

यता शिवशर्मा र गोमा ब्राह्मणीले डोलेहरूसित यस वनको नाम के हो? त्यो पर्वतको नाम के हो? त्यस वृक्षको नाम के हो? भनेर सोध्दै गए। डोलेहरूले पनि यस वनको नाम यो हो , यस वृक्षको नाम यो हो, भनेर बताउँदै गए। जाँदा-जाँदा निकै पर पुगेपछि यौटा सुन्दर वन र तलाउ भएको स्थानमा पुग्दा साँझ पर्यो। त्यहीं वास बसेर खान-पिन गरी सुते। थाकेका हुनाले भुसुक्क निदाए। त्यही बेला श्रीमहादेवको श्रापले चोरहरू आई गोमा ब्राह्मणीका माता-पिताले दिएको सम्पति र शरीरको गहना समेत सबै चोरेर लगेछन्। भोलिपल्ट बिहान उठेर हेर्दा सम्पूर्ण द्रव्य र शरीरको गहना समेत चोरिएको देखेर अधैर्य भई गोमा रुन-कराउन लागिन्। तब डोलेहरूले भने-हे गोमा! नरोऊ, थाकेका हुनाले हामीलाई पनि साहै निद्रा परेछ, यस्तो नजाती भयो, हामी अभागी रहेछौं। अब तिम्रा माता-पितालाई के भनौंला! अब तिमीले जसो भन्दछ्यौ। यती भनेको सुनी गोमा भन्दछिन् हे भारवाहक हो! अब तिमीहरू यहींबाट फर्क। तिमीहरूलाई लगेर के खान दिउँला? यो समाचार मेरा माता-पितालाई सुनाइदिन्ू।

 

यति गोमाले भनेको सुनी डोलेहरू हुन्छ' भनेर गोमालाई प्रणाम गरी आफाफ्ना घर जान भनी फर्केपछि शिवशर्मा ब्राह्मण र गोमा ब्राह्मणी पनि वनमा जो पाइएको फल-फूल खाई त्यहाँबाट ठूलो पर्वतमाथि पुगे। अनि गोमा भन्दछिन्- हे स्वामी! मलाई अत्यन्त भोक लाग्यो। अब हिड्न पनि नसक्ने भएँ। के गरौं भनी बाटोमै अलपत्र परिन्। गोमा ब्राह्मणी गर्भिणी थिइन्। अतः शिवशर्मालाई साहै दया लाग्यो र गोमालाई काखमा राखी स्नेहपूर्वक भने- हे स्त्री! यहाँ फल-फूल केही पनि पाइन्न। यहाँ जलाशय पनि छैन। यस्तो स्थानमा म तिमीलाई के खान दिउँ। यहाँबाट अलि पर गए फल-फूल पनि पाइन्छ र जलाशय पनि छ। जाउँ हिँड भनी बुझाई हात समातेर सुस्त-सुस्त हिंडाई लगे। गोमा, पनि हे प्रभो! आज मेरो यो अवस्था भयो भन्दै सुस्केरा हाल्दै बिस्तार-बिस्तार गइन्।

 

पर्वतको फेदिमा पुगेपछि शिवशर्मा ब्राह्मणले फल-फूल टिपेर खान, दिए र पानी पनि पिउन दिए। अनि-हे स्त्री! अब हाम्रो घर पनि आइपुग्यो भन्दै चन्द्रज्योति नगरको बाहिर पुयाए अनि त्यहीं यौटा खरको झुपडी उत्पन्न गरी-'हे स्त्री! हाम्रो घर यही हो' भनी देखाए र गोमा ब्राह्मणी घर भित्र गएर हेर्दा माकुराको जालो र कसिंगर मात्र देखेर आफ्ना माता-पिताको घर सम्झी बहुतै अधैर्य भई रुन लागिन्। फेरि मेरो कर्मले यस्तै परिल्यायो, अब रोएर क्यै लाभ छैन भनी धैर्य धारण गरेर कुचोले माकुराको जालो मिल्काई कसिंगर बढ़ारिन्। घरमा जे भएको खाई गोमा ब्राह्मणी दुख:को समुद्रमा डुबिरहिन्।

त्यसपछि एक दिन शिवशर्मा ब्राह्मणले आफ्नी पत्नी गोमासित भने-हे स्त्री! तँ गर्भिणी भइस्। हाम्रो घरमा सम्पति छैन। गर्भाधान कर्म कसरी गर्ने? फेरि सुत्केरीमा के खर्च गरौंला? यस निम्ति म परदेश गएर कसैसित केहि मागी ल्याउँछु। तैंले आफ्नू शरीर र घरको रक्षा गरेस्। केवल रोई-कराई मात्र नरहेस् भने। आफ्ना स्वामीको त्यस्तो वचन सुनी गोमाले भनिन्-हे स्वामी! मलाई यस्तो अवस्थामा एक्लै छाडी कहाँ जान मन गरेका? म स्त्री जातिले के गर्नेछु? के खाने? फेरि मलाई यहाँ को देला? विशेष तपाईं वृद्ध भएकालाई कसरी पठाऊँ? यहीं यजमानहरूकहाँ गई जो मिलेको मागेर ल्याई संचय गरौंला। अतः कहीं पनि जाने मन नगर्नुहोस् भनिन् र शिवशर्मा फेरि भन्दछन्- हे स्त्री! हामी निर्धन भए पनि ब्राह्मणको कर्म नगरी हुँदैन। एक महीनामा म आइपुग्नेछु। त्यस सम्म खान नपुगे चन्द्रज्योति नगरमा यजमानहरू छन, तिनका घर गई भिक्षा मागेर खाएस् भनी बुझाए। यति आफ्ना स्वामीले भनेपछि गोमाले मंजूर गरिन्।

 

अनि शिवशर्मा भिक्षा माग्न भनी परदेश हिडें। एक- दुइ दिनको बाटो हिंडेपछि गंगाको तटमा ऋषिहरूको आश्रममा पुगे। त्यहाँ वृद्धअवस्था भएका दुइ पति पत्नी ब्राह्मण ब्राह्मणी बसेका थिए। त्यहाँ शिवशर्माले गंगा-स्नान गरेर ती वृद्धदम्पतिकहाँ गई मलाई नित्यपूजा गर्न फल-फूल देऊ भनी मागे। ती ऋषिका आश्रममा प्रशस्त फल-फूल थिए। ती शिवशर्माको कुरा सुनी, ती वृद्धदम्पतिले तिमी को हौ? कहाँबाट आयौ? भनी, सोधे। अनि शिवशर्माले-'म चन्द्रज्योति नगरको शिवशर्मा नामको ब्राह्मण हूँ। घरमा पत्नी गर्भवती हुनाले गर्भाधानादि कर्म गर्न भिक्षा माग्न हिंडेको' भने। तब ती वृद्धबाह्यणले आफैं टिपेर लैजाऊ भनेर ती शिवशर्मा आफैं वृक्षमा चढी फल-फूल टिप्न लागे। त्यसै अवसरमा संयोगले रूखको हाँगा भाँचिई शिवशर्मा रूखबाट लडेर मरे।

ती शिवशर्मा मरेपछि महादेवको रूप धारण गरी कैलास पुगे। पार्वतीले महादेव आउनु भएको देखिन् र सुनको कमण्डलुले पाऊ धोई भित्र लगेर बसालेपछि भनिन्- हे ईश्वर! लोग्ने मानिसहरू पापी हुँदा रहेछन्। राम्री स्वास्नी पाएपछि सबै कुरा बिर्सन्दा रहेछन्। हजुरले पनि मलाई बिर्सनुभएको थियो, बल्ल सम्झनु भएछ। र आउनु भयो। हेर, सुखमा बसेकी त्यो गोमालाई कल-बल-छलले ल्याएर गर्भिणी तुल्याई दुःख दिई त्यस्ता स्थानमा एक्लै मिल्काएर आउनु भयो। अब त्यो के गरेर खाली? यति पार्वतीले भनेको सुनी महादेवले हाँस्तै भनु भयो-हे प्रिये! सेवक र भक्त
भन्दामा पाप पनि गर्नुपर्दछ। गोमा पनि अब सुखी हुनेछ, संदेह नगर।

त्यसपछि भिक्षा माग्न गएका शिवशर्मा धेरै दिन बितेर पनि फर्केनन् र गोमाले अनेक दुःख सही चन्द्रज्योति नगरमा गएर भिक्षा मागेर ल्याई गर्भाधान कर्म गराइन्। मास पूर्ण भयो र सबै राजलक्षणले युक्त छोरो जन्मियो। गोमाले चन्द्रज्योति नगरबाट ब्राह्मणहरू डाकी ब्राह्मणका म्यादाले नामकरण गराइन्। ती ब्राह्मणहरूले ज्योतिषशास्त्र विचार गरेर 'नवराज' नाम राखी दिए। घर जाने बेलामा-हे गोमा! यो बालक सबै राजलक्षणले युक्त छ र राजा पनि हुन सक्तछ र तिमीलाई सुख संतोष दिनेछ, यसमा शंका नमाने। यती ब्राह्मणहरूको वचन सुनी गोमाले मनमा आनन्द मानी श्रद्धासाथ भोजन दक्षिणा दिई बिदा गरिन्।

 

त्यसपछि बालकलाई गोमाले अर्काको ढिकी जाँतो गरी, धागो कातेर पालन गरिन्। नवराज बालक पनि शुक्लपक्षका चन्द्रमा जस्तै प्रतिदिन बढेर अलि ठूलो भई खेल्न जाँदा मित्रहरूले जे भने पनि सुनिरहन्थे, झगड़ा गर्दैनथे। खेलिसकेर सरासर घर आउँथे। आमाले जो दिएको खाएर सन्तोषले रहन्थे। आफ्नू छोराको 1. स्वभाव देखेर गोमा प्रसन्न भइ यजमानहरूकहा गएर भनिन्-' हे यजमान हो! मेरो छोरो नवराज आफ्ना साथीहरूसंग खेलेर घर आउँछ। खान देऊ पनि भन्दैन, किन दिइनौ पनि भन्दैन, रिस पनि गर्दैन, यो मीठो, यो नमीठो पनि भन्दैन। दिए खान्छ नदिए। चुपलागी रहन्छ। फेरि मेरा स्वामी पनि घरमा छैनन्। सम्पति पनि छैन। सबै यजमानहरूका दयाले जिन तिन एक छाक खाएर बाँचिरहेकी छु। अब त्यसको चूड़ाकर्म र व्रतबन्धादि कसरी गरिदिउँ भन्ने चिन्ता लागिरहेछ।' गोमाको त्यस्तो वचन सुनेर यजमानहरूले आफाफ्नू श्रद्धाले जो सकेको दिए र गोमाले सम्पूर्ण. सामग्री तयार पारी ब्राह्मणहरू डाकेर नवराजको चूडाकर्म र व्रतबन्ध गरिदिइन्। अनि वेद-पुराण आदिको शिक्षा दिलाइन्।

एक दिन नवराजको चाल-चलनले प्रसन्न भएका यजमानहरू स्वयं गोमाकहाँ गएर भने-'हे गोमा! नवराजको विवाह गर्ने भए वरुणपुरका अग्निस्वामीकी कन्या चन्द्रावती छन्, तिनैसित गरिदिउँ। सबै सामग्री ठीक पार। यजमानहरूको यस्ता वचन सुनी गोमा भन्दछिन्-'हे यजमान हो! मेरो छोरोको कमाई छैन, घरमा सम्पति छैन, त्यसलाई कन्या कसले देला! विवाह कसरी गरीदिने?' यति सुनेर यजमानहरूले भने 'हे गोमा! जे चाहिएको सामग्री हामी दिन्छौं, के के चाहिन्छ? यति यजमानहरूले भनेपछि गोमा भन्दछिन् हे यजमान हो! हामीलाई निर्धन जानेर तिमीहरूको यस्तो दया! हामी धन्य रहेछौं भनेर विवाहको समस्त, सामग्री जे-जे चाहिएको थियो मागिन् र यजमानहरूले दिए। अनि असल दिनमा लग्न ठहराई ब्राह्मणको मर्यादाले वरुणपुरका अग्निस्वामीकी कन्या चन्द्रावती र नवराजको विवाह सम्पन्न भयो।

त्यसपछि एक दिन ती नवराज बाहिर खेल्न गएको बेला तिनका मित्रहरूले हे नवराज! आजसम्म हामी तिमीलाई 'नवराज ब्राह्मण' भन्दथ्यौं तर अबदेखि तिमीलाई बिना बाबूको छोरो भन्दछौं। तिम्रा पिता भए तिनको नाम के हो?  तिमी कसका छोरा हौ? हामीलाई भन। यति आफ्ना मित्रहरूले भनेको सुनी नवराज केही उत्तर दिन नसकी घर आएर-हे माता! म कसको छोरो हूँ? मेरा पिताको नाम के हो? भनी सार्थीहरूले भनेको सारा कुरा आमालाई सुनाए। अनि मेरा पिता कहाँ छन्? भनेर सोधे। नवराजको यति कुरा सुन्नासाथ गोमाले वर्षाकालमा मेघ वर्षे झै अविरल आँसू बगाई भनिन्-'हे नवराज! तेरा पिताको नाम शिवशर्मा हो। तँ गर्भमा छँदै भिक्षा माग्न परदेश गएका आजसम्म फर्केनन्। कतै केही कारण परेर रोकिएका छन् कि संसारमै छैनन्, थाहा पाउन सकिन।

 

यति गोमाले भनेको सुनी नवराज भन्दछन्-'हे माता! त्यसो भए मलाई आज्ञा दिनुहवस्, कहाँ बसेका छन्, म गई विचार गरेर आउँछु।' नवराजको यस्तो कुरा सुनेर गोमा भन्दछिन्-हे पुत्र ! तेरो मुख हरेर तेरा पितालाई बिर्सिरहेकी थिएँ। अब तैंले पनि छाडेर गए म कसको आधारले बाँच्ने? फेरि तँ गएपछि। तेरी पत्नी चन्द्रावती पनि माइत जानेछ। यस कारण कहीं पनि जान्छु नभन्। गोमाले भनेको सुनेर नवराज फेरि भन्दछन्-हे माता! म केही भन्दछु, सुन्नुहवस-

पुत्रस्य परमो धर्म: पित्र्युद्धारसमो नहि ।
पित्र्युद्धार न कुरुते स्वयं च सुखमिच्छति ।।
सयाति नरकं घोरं च यावच्चन्द्रार्क मेदिनी ।।


छोराको पहिलो र ठूलो धर्म के हो भने पितृहरूको उद्धार गर्नु। जुन छोरो भएर पितृको उद्धार नगरी केवल आफ्नै सुख भोगतिर लागिरहन्छ भने त्यो जबसम्म पृथ्वी र चन्द्र-सूर्य रहन्छन् तबसम्म घोर नरकमा पर्दछ। अतः म गर्भमा छँदै गएका पिता मेरो यो उमेर हुँदा पनि किन फर्केनन्? मरिसके कि जीवित छन् त्यसको विचार मैले नगरे कसले गर्छ? मरेका भए निश्चय गरेर आउँला, बाँचेकै भए साथमा लिएर आउँछु। यति पनि गर्न नसके मैले जन्म लिएको व्यर्थ छ। हे माता! हजुरको सेवा गर्न बुहारी छँदैछ। मलाई बिदा दिनुहोस्, म जान्छु।

नवराजका यस्ता कुरा सुनी गोमा भन्दछिन्-'हे पुत्र ! तँ धन्य रहिछस्। तेरा पिता मरेका भए पनि बाँचेकै भए पनि चाँडैनै खबर पाएस्।' भनी शिरमा हात राखेर आशिर्वाद दिइन्। नवराजले माताको आशिर्वाद थापी डण्डवत् प्रणाम गरी स्त्री चन्द्रावतीलाई अह्ाउने कुरा अह्ाई। पिताको खबर गर्न परदेश हिंडे। जाँदा-जाँदा केही. दिनमा गंगाको तटमा ऋषिका आश्रममा पुगे। त्यहाँ अत्यन्त वृद्ध भइसकेका ब्राह्मण र ब्राह्मणीलाई देखेर सोधे-तिमीहरू को हौ? यहाँ किन बसेका? यति सुनेर, वृद्धले भने-'हे बालक! हामी व्राह्मण हौं। वृद्धावस्था  भएर गंगामा शरीर त्याग गरौला भनी घर छाडी यहाँ झुपडी बनाएर बसेका। तिमी को हौ? यहाँ के कामले आयौ?' तिनको यस्ता कुरा सुनी नवराज भन्दछन्-'म पनि नवराज नामको ब्राह्मण हुँ। म गर्भमा हुँदै गर्भाधान कर्म गर्न भिक्षा माग्न हिंडेका मेरा पिता शिवशर्मा नामका ब्राह्मण आजसम्म घर फिरेनन् र तिनैको खबर गर्न हिंडेको हुँ, तिमीले देख्यौ कि?'

यति नवराजको वचन सुनी ती वृद्धले भने-'हे नवराज! गर्भाधान कर्म गर्न भिक्षा माग्न आएका चन्द्रज्योति नगरका शिवशर्मा नामका वृद्ध ब्राह्मणलाई हामीले देखेथ्यौं। यहीं आई आफ्नू नित्य पूजा गर्न फल- फूल टिप्न त्यस वृक्षमा चढेका थिए, दैवसंयोग वृक्षको हाँगा भाँचियो र वृक्षबाट लडेर मरे। हाड-खोड त अझसम्म पनि होला, त्यहाँ गएर हेर । यति वृद्ध ब्राह्मणले भनेको सुनी नवराज रूखमनि हेर्न गए। त्यहाँ आफ्ना पिताको हाड-खोड देखी-हे पिता! मेरै निम्ति भिक्षा माग्न आएर मेरो मुखै देख्न नपाई यस्तो स्थानमा आएर रूखबाट लड़ी प्राण दियौ। यो समाचार म आमालाई कसरी सुनाउँला? मेरी माताले शोक गर्दा म के भनेर बुझाउँला? भन्दै अनेक तरहले शोक गरेर रुन लागे। फेरी धैर्य धारण गरी हाड-खोड़ बटुली गंगा-प्रवाह गरेर ब्राह्मणका मर्यादाले दसगात्र क्रिया गरिसकी अब कता जाऊँ? घर जाऊँ भने सम्पति छैन। विषेश यो समाचार सुनाई माताले शोक गरेको मात्र हेर्नुछ। यस कारण कुनै राजाको सेवा चाकरी गरेर केही द्रव्य लिई घर जानु असल होला, भनी नजीकको शहरमा गएर राजाको सेवामा लागे।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्तसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां शिवशर्मापरलोकगमनंनाम द्वाविंशोऽध्यायः ।॥२२।।

कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-

उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।

दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी । 
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।। 

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः । 
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

श्री स्वस्थानी देव्यार्पणमस्तु ।

यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish