श्रीस्वस्थानी व्रतकथाको अष्टमोऽध्यायः, महादेवले सतीदेवीको मृत शरीर लिएर पृथ्वीभ्रमण

अष्टमोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! विष्णु भगवान् संग्रामबाट अन्तर्धान भएपछि बाँकी बचेका देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबै हाहाकार गरेर दस दिशातिर भागे। ती परस्पर भन्दथे -अब दक्षप्रजापतिको प्राण रहन्न किनकि नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भयो, जुन चक्र लिई विष्णु खड़ा हुँदा स्वयं शिव पनि टिक्न सक्तैनथे, त्यस्ता नारायण पनि भागे। अब हाम्रो क्षुद्र पराक्रमले के होला! तस्मात् अब आफाफ्नू प्राण रक्षा गर्नु नै उचित हो भन्दै दस दिशा भागे। नारायण सहित देवता, यक्ष, गन्धर्व, नाग आदि आफाफ्नू जीवन बचाई भागेको देखी वीरभद्र नागले झैं नि:श्वास फेरी, वर्षा-कालको मेघ झै गर्जी तत्काल दक्षको टुपी समाती भूमिमा ढलाई बोध गराए-हे पापिष्ट दक्ष! तैंले महादेवको अनेक निन्दा गरिस्। आफ्नी छोरीको हत्या गरिस्। तँ जस्तो पापी यस संसारमा खोजे पनि पाइन्न। त्यो बौलाहा हो, उसलाई नडाके मलाई के होला, भनी त्रिलोकका ईश्वरको निन्दा गरिथिस्, अब यस बखतमा तेरा रक्षक ज्वाइँहरू कता गए? तिनीहरूको सहायता मार्गी आफ्नू प्राण बचा। तेरो यज्ञ बिना शंकर नै पूरा गराउन्। अब तलाई पनि यही यज्ञमा होम्नसके हामीलाई सन्तोष होला। भनी अनेक तरहले बोध गराई दक्षप्रजापतिको शिर काटेर अग्निकुण्डमा होमिदिए।

 

यस्ता प्रकारले दुष्ट संहार गरेको देखी नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत, विषमज्वर र महाकाली आदिले प्रसन्न भई-शिव-निन्दक दक्षप्रजापतिको नाश गयौ, धन्य-धन्य वीरभद्र! तिमी समान वीर यस संसारमा हुन दुर्लभ छ भनी स्तुति गरे। त्यसपछि दक्षप्रजापतिकी स्त्री विरणीले आफ्ना पतिको शिर यज्ञकुण्डम होमिदिएको देखेर अत्यन्त अधैर्य भई ठूलो हावा चल्दा केराको थाम ढले झै पृथ्वीमा ढली मूर्छा परिन्। केही बेरमा चेष्टा आयो र शोक गर्न थालिन्-हे नाथ! मलाई यस अवस्थामा अनाथ तुल्याई कता गयौ? जगदीश्वर महादेवलाई यज्ञमा नडात्ता यस्तो भयो। हे मूढ! व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयौ, मेरो यो गति भयो, भनी अनेक प्रकारले शोक गरेर वीरभद्रसित प्रार्थना गरिन्-हे ईश्वर! मेरा पति दक्षप्रजापति अज्ञानी, मूढ र अभिमानी पनि हुन्। तिनलाई कुनै चेष्टा पनि थिएन। त्यस्ता मूढको नाश गरी हजुरको के कीर्ति होला मलाई विधवा नतुल्याई स्वामी वरदान दिनु हवस्। हे वीर! आफ्नू सृष्टि आफैंले संहार गर्नु अनुचित हो। सृष्टि-स्थिति- संहार गर्ने महारुद्र पनि तिमी महादेव पनि तिमी। आदि मध्य अन्त्य नभएका ब्रह्मा, विष्णु, शिव जे भने पनि तिमी नै हौ। हे भक्तवत्सल! मेरो मुख हेरी मेरा स्वामीको सबै अपराध क्षमा गरेर जीवन दान दिई सौभाग्यवती बनाउनु हवस् भनेर स्तुति गरेको इन्द्रादि देवताहरूले सुनी आकाशबाट पुष्प वृष्टि गरी 'हे वीरभद्र! दक्षप्रजापतिलाई जीवनदान दिई विरणीलाई सन्तोष दिनुहवस्' भनी आकाशवाणी गरे।

 

देवताहरूले त्यस्तो आग्रह गरेको र विरणीको चिन्तित अनुहार देखेर मनमा करुणा उत्पन्न भयो र विरणीतर्फ हेरी वीरभद्रले भने-हे विरणी! तिम्रो स्तुतिले म प्रसन्न भएँ र तिमीलाई स्वामी वर दिन्छु र तिम्रो स्वामीको शिर मैले अघि नै अग्निकुण्डमा होमिसकें। अब यज्ञमा बलि दिएको बोकाको शिर जोरेर जीवित पारिदिन्छु, किनकि दक्षले जगदीश्वरको साहै निन्दा गर्यो, अतः यो पशु हो, यसैले पशुकै टाउको जोरिदिन्छु। यस्तो वीरभद्रको वचन सुनी विरणीले 'हुन्छ' भनी अंजलि जोरी उभिइरहिन्। अनि वीरभद्रले यज्ञशालाबाट बोकाको शिर मगाई पछिल्तिर मुख फर्काएर जोरी दक्षप्रजापतिलाई जिलाइदिए। दक्षप्रजापति जीवित भएपछि विरणीले मनमा सन्तोष मानी छाग-मुख अर्थात् बोकाको टाउको भएका स्वामीसहित वीरभद्र र महाकालीलाई दण्डवत् प्रणाम गरी आफ्नू घर गए।

यता वीरभद्र र महाकाली पनि देवता, यक्ष, गन्धर्व, किन्नर आदिको संहार गरी, दक्षको यज्ञ विध्वंश पारी नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत, प्रमथगण, समेत त्यहाँबाट अन्तरधान भई कैलासमा पुगी शिवजीलाई, दण्डवत् प्रणाम गरेर-हे ईश्वर! हजुरको आज्ञा अनुसार, दक्षको यज्ञ विध्वंश पारी देवता, यक्ष, गन्धर्व र उसका समस्त रक्षक मारी दक्षको शिर छुट्याई अग्निकुण्डमा होमिसकेपछि उसकी स्त्री विरणीले आफ्ना स्वामी मरेको देखी साहै दीन भावले विलाप गर्न लागिन्। त्यो देखेर मैले अग्निकुण्डमा बलि दिएको बोकाको शिर ल्याएर पछाडि मुख फर्काई जोरेर दक्षप्रजापतिलाई जिलाई आएँ भनी बिन्ती गरे र महादेव प्रसन्न भई-'हे वीरभद्र! महाकाली! तिमी धन्य रहेछौ, म प्रसन्न भएँ' यति भनी ती दुवैलाई आफ्नू शरीरमा लीन गराए।

 

त्यसपछि महादेवले प्राणप्रिया सतीलाई सम्झी दक्षप्रजापतिले यज्ञ गरेको स्थानमा पुगेर हेर्दा अग्निकुण्डमा सुतिरहेकी सतीदेवीलाई देखी 'हा सती! कैलास शून्य तुल्याई मलाई एक्लै छाडेर कता गयौ?
भन्दै साहै नै अधैर्य भइ वृक्ष ढले झै भूमिमा लडी मूर्छा परे। केही बेरमा चेत आयो र-'हे प्यारी! अब मैले यस संसारमा बाँच्नु पनि व्यर्थ भयो। मलाई एक क्षण पनि एक्लै नछाडी मेरै मुख्यांजी बसेर मैले भनेका कथा पुराणहरू सुनिरहन्थ्यौ, मेरो वचन नमान्दा तिम्रो यो गति भयो, म यस स्थितिमा पुगें, भन्दै मुड्कीले छाती ठोकी, वर्षाकालमा आकाशबाट पानी परे झैं मोतिका दाना जस्ता आँसुका ढिका खसाली फेरि विलाप गर्न लाग्नुभयो-'हे प्रिये! म कतै गएर आउँदा सुनको कमण्डलु लिई गोडा धोइदिन आउँथ्यौ। हे प्यारी! मेरो खाने वस्तु भनेर विष, भाड, धतुरो-मेरो स्वामीले खाने वस्तु भनेर जतन गरी राख्दथयौ, अब को राखिदेला! तिमी बिना मेरो चित्त कसरी ) स्थिर रहला?' यसरी भन्दै कहिले काखमा लिने, कहिले अंकमाल गर्ने, कहिले म्वाइँ खाने, कहिले छातीमा हात राख्ने, कहिले सतीदेवीको हात समाई आफ्नू छातीमा राख्ने, यसरी अनेक प्रकारका शोक गरी सतीदेवीको मृत शरीर पिठिउँमा बोकी बौलाहा जस्तै भएर पृथ्वी भ्रमण गरी हिंडे। महादेवले पीठमा बोकेकी हुनाले गलित वा दुर्गन्ध केही भइन्। केवल निदाए जस्ती भएर रहिन्।

दक्ष प्रजापतिले शिवजीको विरोध गरेको कारण- अघि कुनै समयमा ब्रह्माजीको यज्ञमा दक्षप्रजापति पुग्दा सभामा बसेका सबै जना उठे तर शिवजी उठ्नुभएन र दक्षले आफ्नू अपमान गरे भनेर शिवको निन्दा गरे तापनि शिव केही नबोली त्यहाँबाट हिंड्नु भयो।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां महादेवपृथ्वीभ्रमणवर्णनंनाम अट्टमोऽध्यायः।।८ ।।