शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्री हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्री भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जागरण सहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय विधान छ । भगवान् शिवको निर्गुण निराकारबाट सगुण साकार रुपमा दिव्य अवतरणको मंगलसूचक रातको नाम नै महाशिवरात्री हो । भगवती पार्वतीको जिज्ञासामा शिव भन्नुहुन्छ – फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रीका नामले प्रसिद्ध छ । यस दिन व्रतोपवास गर्ने साधकले मलाई प्रसन्न गर्दछ ।
फाल्गुने कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।। (शिवपुराण)
महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ ।
माघफाल्गुनयोर्मध्ये या च कृष्णा चतुर्दशी ।
तस्यां जागरणादु्रद्रः पूजितो भुक्तिमुक्तिदः ।। (गरुडपुराण– १२४ अध्याय)
यस रात्रिलाई अर्धरात्रिव्यापिनी चतुर्दशी (जुन दिन आधारातसम्म चतुर्दशी तिथि हुन्छ त्यो) तिथिमा गर्नुपर्ने कुरा ईशानसंहितामा उल्लेख गरिएको छ–
तत्कालव्यापिनी ग्राह्या शिवरात्रिव्रते तिथिः ।
अर्द्धरात्रादधश्चोर्द्ध्वं युक्ता यत्र चतुर्दशी ।।
व्याप्ता सा दृश्यते तस्यां तस्यां कुर्यात् व्रतं नरः ।।
चाहे यो तिथि पूर्वा (त्रयोदशी तिथिले युक्त) होस्, चाहे परा (चतुर्दशीयुक्त) होस् । फागुन कृष्ण चतुर्दशी तिथि आधा रातसम्म भएको दिन शिवरात्री व्रत गर्ने साधकले अनन्त फल प्राप्त गर्दछ भनी नारदसंहितामा उल्लेख गरिएको छ । यस सम्बन्धमा तीन ओटा पक्षहरु छन्– १. चतुर्दशी तिथिलाई प्रदोषव्यापिनी (रातको सुरुवातमा मात्र भएको), २. निशीथव्यापिनी (आधारातसम्म भएको) र ३. उभय (दुवै) व्यापिनी । व्रतराज, निर्णयसिन्धु र धर्मसिन्धु आदि ग्रन्थहरुका अनुसार निशीथव्यापिनी चतुर्दशी तिथिलाई नै लिनु पर्दछ । अतः आधारातसम्म भएको चतुर्दशी तिथि नै मुख्य हो, तर यसको अभावमा प्रदोषव्यापिनीलाई लिने भएकोले यसलाई गौण मानिन्छ । त्यसैले पूर्वा अथवा परा दुवै अवस्थामा जुन निशिथव्यापिनी चतुर्दशी तिथि छ, त्यसैमा व्रत गर्नुपर्दछ भन्ने शास्त्रीय नियम छ ।
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभीष्टतम पदार्थको प्राप्ति हुन्छ ।
भगवान् शंकरमा अनुपम सामञ्जस्य, अद्भुत समन्वय र उत्कृष्ट सद्भावको दर्शन हुन्छ । त्यसैले वहाँको सत्प्रेरणाद्वारा विश्व–कल्याणको महान् कार्यमा प्रवृत्त हुनु मानवमात्रको परम कर्तव्य हो । भगवान् शिव अर्धनारीश्वर भएर पनि कामविजेता हुनुहुन्छ । गृहस्थ भएर पनि परम विरक्त हुनुहुन्छ । विषपान गरेका कारण नीलकण्ठ भएर पनि विषबाट अलिप्त हुनुहुन्छ । ऋद्धि–सिद्धिहरुका मालिक भएर पनि तिनीहरुबाट अलग हुनुहुन्छ । उग्र भएर पनि सौम्य (शान्त) र अकिंचन भैकन पनि सर्वेश्वर हुनुहुन्छ । निधारमा प्रलयकालको अग्नि र शिरमा परम शीतल गंगाजी वहाँको अनुपम शृंगारका रुपमा रहेका छन् । भगवान् शिवको सान्निध्यमा साँढे र सिंह त्यसैगरी मयूर र सर्पले एक–आपसमा रहेको वैरभावलाई सजिलै भुली एकसाथ क्रीडा गर्दछन् । यसले समस्त विरोधी भावहरुको विलक्षण समन्वयको शिक्षा दिने भएकाले विश्वलाई सह–अस्तित्व अपनाउनका लागि राम्रो मार्गनिर्देशन मिल्दछ ।
यसैगरी वहाँको श्रीविग्रहरूप शिवलिंग ब्रह्माण्ड र निराकार ब्रह्मको प्रतीक भएकोले सर्वपूज्य छ । निराकार ब्रह्मको कुनै रूप, रंग, आकार आदि नभए जस्तै शिवलिंगको पनि छैन । जसरी गणितमा शून्य केहि नभएर पनि सबथोक हुन्छ । जस्तै कुनै अंकको दाहिने भएर शून्यले त्यसको दशगुणा मूल्य गरिदिन्छ । त्यसैगरी शिवलिंगको पूजाबाट भगवान् शिव पनि दाहिने (अनुकूल) भएर मानवमात्रलाई अनन्त सुख–समृद्धि प्रदान गर्नुहुन्छ ।
ज्योतिषशास्त्रका अनुसार प्रतिपदा आदि १६ ओटा तिथिहरुको अग्नि आदि गरिएका देवताहरु स्वामी (मालिक) हुन्छन् । अतः जुन तिथिको जुन देवता स्वामी हुन्छन्, ती देवताको त्यसै तिथिमा व्रत, पूजा आदि गर्नाले उनको विशेष कृपा उपासकलाई प्राप्त हुन्छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् अर्थात् भगवान् शिवको तिथि भनेको चतुर्दशी हो । त्यसैले यस तिथिको रातिमा व्रत गरिने भएकोले यस व्रतको नाम शिवरात्रि रहन गयो । यसैगरी प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा पनि शिवरात्री व्रत हुन्छ, जसलाई महाशिवरात्री व्रत भनिन्छ । शिवभक्तहरु प्रत्येक कृष्णचतुर्दशीमा व्रत गर्ने गर्दछन् तर फागुन कृष्ण चतुर्दशी तिथिको आधारातमा आदिदेव भगवान् शिव करोडौँ सूर्यको समान तेज सहित लिंग रुपमा प्रकट हुनु भएकोले यो पर्व महाशिवरात्रीका नामले प्रसिद्ध भएको कुरा ईशानसंहितामा उल्लेख गरिएको छ–
फाल्गुनकृष्णचतुर्दश्यामादिदेवो महानिशि ।
शिवलिङ्गतयोद्भूतः कोटिसूर्यसमप्रभः ।।
यो व्रत ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री–पुरुष र बालक–युवा–वृद्ध आदि सबैले गर्न सक्दछन् । प्रत्येक एकादशी व्रत लगायत अन्य व्रतहरु जस्तै महाशिवरात्रि व्रत पनि सबैले गर्नुपर्दछ । नगरिएको खण्डमा दोष लाग्दछ ।
महाशिवरात्रीको दिन भगवान् शिवको उपासना (व्रत) गर्नाले उपासकलाई भोग एवं मोक्ष दुवैको प्राप्ति हुने कुरा शिवपुराणको कोटिरुद्रसंहितामा उल्लेख गरिएको छ । ब्रह्मा, विष्णु र पर्वतीले सोधेपछि भगवान् शिवले भन्नुभयो– शिवरात्रि व्रत गर्नाले महान् पुण्यको प्राप्ति हुन्छ । मोक्षार्थीलाई मोक्षको प्राप्ति गराउने भएकाले चार व्रतहरुको नियमपूर्वक पालना गर्नुपर्दछ । ती चार व्रत यस प्रकार छन्– १. भगवान् शिवको पूजा, २. रुद्रमन्त्रको जप, ३. शिवमन्दिरमा उपवास र ४. काशीमा देहत्याग । शिवपुराणमा मोक्षमार्गका नामले प्रसिद्ध यी चार मार्गहरु मध्ये पनि शिवरात्रीव्रतको विशेष महत्त्व भएकोले यसलाई अवश्य गर्नुपर्दछ । किनकि वहाँले हामीलाई काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यादि विकारहरुबाट मुक्त गरी परम सुख, शान्ति, ऐश्वर्यादि प्रदान गर्नुहुन्छ ।
शिवपुराणका अनुसार प्रत्येक महिनाको शिवरात्रिव्रत भन्दा फागुन कृष्ण चतुर्दशीको दिन मनाइने महाशिवरात्री व्रतको विशेष महिमा भएको कुरा प्रष्ट हुन्छ । यो सबैका लागि धर्मप्राप्तिको उत्तम साधन हो । निष्काम अथवा सकाम भावले सबै मानिस, वर्ण, आश्रम, स्त्री, बालक र देवताहरुका लागि समेत यो महाव्रत परम हितकारक मानिएको छ । भगवान् शिव अभिषेक, वस्त्र, धूप, अर्चन तथा पुष्पादिसमर्पणबाट भन्दा व्रत–उपवासबाट धेरै खुसी हुने कुरा यस कथनबाट प्रष्ट हुन्छ–
न स्नानेन न वस्त्रेण न धूपेन न चार्चया ।
तुष्यामि न तथा पुष्पैर्यथा तत्रोपवासतः ।। (शिवपुराण)
अन्य देवताहरुको पूजा एवं व्रतादि कार्य प्राय दिनमा नै हुन्छन् भने भगवान् शिवलाई रात्रि नै किन प्रिय भयो ? र त्यो पनि फागुन कृष्ण चतुर्दशी तिथि नै किन ? भन्ने जिज्ञासाको समाधानका सन्दर्भमा विद्वान्-हरुको कथन छ– भगवान् शंकर संहारशक्ति र तमोगुणका अधिष्ठाता हुनुहुन्छ । त्यसैले तमोमयी (तमोगुणले युक्त) रात्रिसँग वहाँको स्नेह हुनु स्वाभाविक नै हो । रात्रि संहारकालको प्रतिनिधि हो । त्यसको आगमनसँगै सर्वप्रथम प्रकाशको संहार (नाश) हुन्छ । त्यसैगरी समस्त जीवको दैनिक कर्मचेष्टाहरु पनि समाप्त हुन्छन् र अन्त्यमा निद्राद्वारा चेतनाको पनि नाश भई सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर खस्दछ । अतः प्राकृतिक दृष्टिले भगवान् शिवलाई रात्रि प्रिय भएको कुरा सहजै प्रष्ट हुन्छ । स्कन्दपुराणका अनुसार रातको चारै प्रहरहरुमा शिवको पञ्चामृत स्नान सहित विशेष प्रकारले पूजा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
ततो रात्रौ प्रकर्तव्यं शिवप्रीणनतत्परः ।
प्रहरे प्रहरे स्नानं पूजाञ्चैव विशेषतः ।।
त्यसैले भगवान् शिवको आराधना शिवरात्रिको दिनमा मात्र नभई अन्य समयमा समेत प्रदोष (रात्रिको प्रारम्भ) मा नै गर्नु उपयुक्त मानिन्छ ।
महाशिवरात्री कृष्णपक्षमा नै हुनुमा पनि ठूलो रहस्य लुकेको छ । शुक्लपक्षमा चन्द्रमा पूर्ण (सबल अर्थात् सम्पूर्ण कलाले युक्त) हुन्छ भने कृणपक्षमा क्षीण हुन्छ । चन्द्रमाको कलाको वृद्धिसँगै संसारका सबै रसवान् पदार्थमा वृद्धि र क्षयसँगै तिनीहरुमा ह्रास आउनु स्वाभाविक एवं प्रत्यक्ष छ । चन्द्रमा क्रमशः घट्दै औंशीको दिन पूरै क्षीण हुन्छ । त्यसको प्रभाव अण्ड–पिण्डवाद अनुसार मनका अधिष्ठाता भूमण्डलका समस्त प्राणीहरुमा पनि पर्दछ र उन्मना (उत्कण्ठित चित्त भएका) जीवहरुको अन्तःकरणमा तामसी शक्तिहरु प्रबुद्ध भई अनेक प्रकारका नैतिक एवं सामाजिक अपराधका कारण बन्दछन् । आध्यात्मिक भाषामा यिनै शक्तिहरुको अर्को नाम भूत–प्रेत आदि हुन्छ । शिवलाई यिनीहरुको नियामक (नियन्त्रक) मानिन्छ । जगदात्मा सूर्यको स्थितिले गर्दा दिनमा आत्मतत्व जागरुक हुने भएकाले यी तामसी शक्तिहरुले आफ्नो विशेष प्रभाव देखाउन सक्दैनन् । तर चन्द्रमा विहीन अन्धकारमय रात्रिको आगमनसँगै ती तत्त्वहरुले आफ्नो प्रभाव देखाउन थाल्दछन् । अतः जसरी पानी आउनु पूर्व पुल बनाइन्छ । त्यसैगरी यो चन्द्रक्षय (औंसी) तिथि आउनु भन्दा सद्यः पूर्व (अघिल्लो दिन) नै ती सम्पूर्ण तामसी वृत्तिहरुको एकमात्र अधिष्ठाता भगवान् आशुतोषको आराधना गर्ने विधान शास्त्रकारहरुले गर्नुभएको छ । विशेष गरी कृष्णचतुर्दशीकै रात्रिमा शिवको आराधना गर्नुको मुख्य रहस्य यही हो ।
प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशीलाई शिवरात्री मानिएकोले ती दिनहरुमा पञ्चांगमा समेत यही नाम लेखिन्छ । तर फागुन महिनाको शिवरात्रीलाई भने महाशिवरात्री भनिन्छ । जसरी औंसी तिथिको नकारात्मक प्रभावबाट बच्नका लागि त्यसको ठीक एक दिन अगाडि चतुर्दशीको दिन यो उपासना गरिन्छ, त्यसैगरी क्षय (समाप्त) हुँदै गरेको वर्षको अन्तिम महिना चैतको ठीक एक महिना अगाडि फागुनमा नै यो पर्व मनाउने विधान शास्त्रहरुमा पाइन्छ । जुन कुरा सबै प्रकारबाट युक्तिसंगत छ । त्यसैगरी रुद्रहरु एकादश संख्यात्मक (११) भएकाले पनि यो पर्व ११ औँ महिना (फागुन) मा सम्पन्न हुनुले पनि फागुनमा गर्नुको रहस्यलाई प्रकाशित गर्दछ ।
हाम्रा पूर्वज ऋषि–महर्षिहरुले सम्पूर्ण आध्यात्मिक अनुष्ठानहरुमा उपवासलाई महत्त्वपूर्ण मानेका छन् ।
विषया विनिवर्तन्ते निराहारस्य देहिनः । (गीता– २।५९)
गीताको यस भनाई अनुसार उपवासलाई विषय निवृत्तिको अचूक साधन मानिएको छ । अतः आध्यात्मिक साधनाका लागि उपवास बस्नु अत्यावश्यक हुन्छ । उपवासका साथै रात्रिजागरणको पनि उत्तिकै महत्त्व छ । गीतामा भनिएको पनि छ –
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी । (२।६९)
अर्थात् उपवास आदिद्वारा इन्द्रियहरु र मनलाई नियन्त्रण गर्ने संयमी व्यक्ति नै रातमा जागा बसी आफ्नो लक्ष्यप्राप्तिमा अग्रसर हुन सक्दछ । त्यसैले भगवान् शिवको उपासनाका लागि उपवास र रात्रि-जागरणको ठूलो महिमा छ । रात नै प्यारो लाग्ने भगवान् शिवप्राप्तिको समय रात्रि भन्दा बाहेक अरु कुन हुन सक्दछ ? अतः यी कारणहरुले गर्दा यस महान् पर्वमा शिवभक्तहरु उपवासका साथै रातिमा जागा बसी विधिपूर्वक शिवपूजा गर्ने गर्दछन् ।